• २५ पुस २०८१, बिहिबार

काठमाडौंमा एनआरएनको एकता महाधिवेशन मे ३ देखि हुने

blog

नर्थ क्यारोलिना (अमेरिका), पुस २४ गते । आगामी मे ३ देखि ५ गतेसम्म काठमाडौंमा गैर आवासीय नेपाली संघ एनआरएनको एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

सर्वोच्च अदालतले बद्री केसी, कुल आचार्य र रविना थापा तीनजना अध्यक्ष रहेको एनआरएनको दशौँ अधिवेशनलाई अवैधानिक ठहर गर्दै खारेज गरेपछि सर्वोच्चले एनआरएनका पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा नयाँ अधिवेशन गर्न निर्देशन दिएको हो ।

घलेको नेतृत्वमा रहेको उच्चस्तरीय कार्यसमितिमा पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, कुमार पन्त, विनोद कुँवर, बद्री केसी, कुल आचार्य, रविना केसीलगायत जानकी गुरुंग, रामप्रताप थापा र उमेश पुडासैनी गरी १३ जना सदस्य रहनुभएको छ । सो कार्यसमितिले एकताको नयाँ अधिवेशन गर्नका लागि कार्यविधि बनाउने र त्यसले स्वतन्त्र र निष्पक्ष निर्वाचनको प्रक्रिया अगाडि बढाउने छ । हाल विश्वभर ८७ वटा देशमा एनआरएन कार्यसमिति मौजुदा छ ।

आइतबार आयोजित जुम बैठकले बहुमतबाट उक्त कार्यविधि बनाइने कुराको जानकारी दिइएको थियो । सो जुम बैठकमा सहभागी नाम उल्लेख नगर्ने शर्तमा एक जना सदस्यले दिएको जानकारी अनुसार, सो कार्यविधिमा प्रत्येक देशमा एनसीसीको जतिसक्दो चाँडो नयाँ सदस्यता वितरण र निर्वाचन पनि हुनेछ । प्रत्येक पटक एनआरएनको निर्वाचनको मिति तय भएपछि डेलिगेट्स सदस्यताको विवाद हुँदै आएको सन्दर्भलाई दृष्टिगत गरी एकताको यो एनआरएनको महाधिवेशनका लागि नेपाल जाने जो कोही एनआरएनले पनि मतदानमा सहभागी हुनसक्ने व्यवस्था गरिने जानकारी पनि सो सूत्रले दिएको छ ।

यो महाधिवेशनबाट लामो समयदेखि बल्झदै आएको एनआरएनको विवादित मुद्दाहरुको समाधान गरी आपसी समन्वय र समझदारी गर्ने अपेक्षा पनि गरिएको छ ।

घले नेतृत्वको कार्यसमितिले विभिन्न समिति बनाएर एक हप्तापछि यस बारेको प्रारुप तयार गरी निर्णयार्थ प्रस्तुत गर्ने बताइएको छ ।

Author
कृष्णराज खनाल

पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।