• २ असार २०८१, आइतबार

कर्णालीमा चौँसट्ठी स्वतन्त्र उम्मेदवार विजयी

blog

जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुख राजुसिंह कठायत र कालीकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख कमलबहादुर शाही

काँक्रेविहार समाचारदाता

सुर्खेत, जेठ १० गते ।  कर्णाली प्रदेशको स्थानीय तहका विभिन्न पदमा ६४ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कर्णालीका ७९ वटा स्थानीय तहमा ९४६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए । पालिका अध्यक्ष, उपाध्यक्षदेखि वडा अध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका हुन् । नगरपालिका प्रमुखमा दुई जना, गाउँपालिका अध्यक्षमा तीन जना र गाउँपालिका उपाध्यक्षमा एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । यसैगरी वडा अध्यक्षमा १९ जना, वडा सदस्यमा २० जना, महिला वडा सदस्यमा आठ जना र दलित महिला वडा सदस्यमा नौँ जना स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । 

जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसले टिकट नदिएपछि कठायतले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

कालीकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित हुनुभएको छ । यसैगरी डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कार्मा छोइबेल गुरुङ निर्वाचित हुनुभएको छ । 

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) ले टिकट नदिएपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । हुम्लाको चङ्खेली गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित हुनुभएको छ । यस्तै डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार पेम्मा वाङछेन गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले एक हजार १०३ मत ल्याई विजयी हुनुभएको हो ।

यसैगरी कर्णाली प्रदेशका १९ वटा वडाका वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा मुगुको सोरू गाउँपालिका–१ मा धनकर्ण छत्याल, सोरू गाउँपालिका–४ मा गोर्खबहादुर मल्ल, सोरू गाउँपालिका–८ मा हंश कार्की विजयी हुनुभएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा धनबहादुर कामी, गुठीचौर गाउँपालिका–३ मा इन्द्र बुढा निर्वाचित हुनुभएको छ । 

यस्तै कालीकोटको नरहरिनाथ गाउँपालिका–५ मा मानबहादुर सहकारी, पलाता गाउँपालिका–७ मा कलबहादुर बम, हुम्लाको चङ्खेली गाउँपालिका–४ मा पदमबहादुर शाही, चङ्खेली गाउँपालिका–५ मा हर्कधन तामाङ, चङ्खेली गाउँपालिका–६ मा जयबहादुर सिरा, नाम्खा गाउँपालिका–२ मा समक्याप लामा, नाम्खा गाउँपालिका–३ मा ग्यामजो तामाङ र सर्केगाड गाउँपालिका–३ मा अकिलबहादुर कार्की विजयी हुनुभएको छ ।

जाजरकोटको कुशे गाउँपालिका–२ मा मानबहादुर सिंह, कुशे गाउँपालिका–५ मा हरिबहादुर सिंह, नलगाड नगरपालिका–११ मा लालबहादुर बानियाँ, बारेकोट गाउँपालिका–७ मा विशाल किरण बस्नेत निर्वाचित हुनुभएको छ । दैलेखको भैरवी गाउँपालिका–४ मा चक्रप्रसाद शर्मा र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ मा सुन्दर ओली वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ  ।

कर्णाली प्रदेशका विभिन्न वडामा महिला सदस्य पदमा निर्वाचित हुने स्वतन्त्र उम्मेदवारको सङ्ख्या आठ रहेको छ । मुगुको सोरू गाउँपालिका–१ मा सिर्जना मल्ल, सोही गाउँपालिका–८ मा बुर्कला कामी, जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा हरिनी बडुवाल, कालीकोटको महावै गाउँपालिका–५ मा नानी शाही निर्वाचित हुनुभएको छ । हुम्लाको चङ्खेली गाउँपालिका–४ मा माया जैसी, जाजरकोटको छेडागाड नगरपालिका–५ मा देवसरा अधिकारी, नलगाड नगरपालिका–११ मा कमलाकुमारी बानियाँ र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा कमला बोहरा निर्वाचित हुनुभएको छ ।

दलित महिला सदस्यतर्फ भने प्रदेशभर नौ जना स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा मुगुको सोरू गाउँपालिका–८ मा चखुल्ली भियाल, सोही गाउँपालिका–११ मा बाचु सार्की, जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पुल्ती सार्की, कनकासुन्दरी गाउँपालिका–८ मा चनाखी कुलाला, हुम्लाको चङ्खेली गाउँपालिका–३ मा मोतिशिला कामी, जाजरकोटको छेडागाड नगरपालिका–५ मा नानकली दमाई, नलगाड नगरपालिका–११ मा परमिला दमाई, दैलेखको गुराँस गाउँपालिका–२ मा सोमती कामी र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा लालसरा कामी दलित महिला वडा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

वडा सदस्य पदमा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–२ मा नोर्बु ग्याल्छन गुरुङ, मुगुको सोरू गाउँपालिका–१ मा विष्णु छत्याल र डिल्ली छत्याल, सोही गाउँपालिका–८ मा चन्द्रनाथ योगी, जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ मा बलबहादुर बुढा, कनकासुन्दरी गाउँपालिका–५ मा पदमबहादुर कडारा, कनकासुन्दरी गाउँपालिका–८ मा गोल दमाई र करजित सार्की निर्वाचित हुनुभयो ।

जुम्लाकै कनकासुन्दरी गाउँपालिका–५ मा कालीबहादुर भण्डारी, कालीकोटको खाँडाचक्र नगरपालिका–६ मा दिलबहादुर नेपाली, हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा छक्कबहादुर बुढा, खार्पुनाथ गाउँपालिका–२ मा लालबहादुर छत्याल र चन्द्रबहादुर रावल, चङ्खेली गाउँपालिका–२ मा हंश शाही, नाम्खा गाउँपालिका–१ मा पोन छतेन लामा तामाङ, नाम्खा गाउँपालिका–३ मा तोप्दन लामा, नाम्खा गाउँपालिका–४ मा रिन्जेन सामफेल लामा, जाजरकोटको नलगाड नगरपालिमा–११ मा तप्तबहादुर बानियाँ, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा खडकबहादुर पुन र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा पूर्णबहादुर बुढा निर्वाचित हुनुभएको छ ।