• ३ असोज २०८२, शुक्रबार

वंशाणुगत कारणले महिलाको अनुहारमा दाह्री आउँछ

blog

काठमाडौँ, पुस २४ गते । महिलाको शरीर, अनुहारमा अनावश्यक रौँ, दाह्री आउने समस्या बढ्दो छ । अनावश्यक रौँ, दाह्री आउने समस्या लिएर दिनमा दुई तीन जना परामर्शका लागि छालारोग विशेषज्ञसम्म पुग्ने गर्छन् ।  

यस्तो समस्याले बालिकामा बोल्न डराउने, आत्तिने, आत्मविश्वासको कमी हुने जस्ता मानसिक समस्या देखिने चिकित्सक बताउँछन् । 

छालारोग विशेषज्ञ प्रा‍.डा. धर्मेन्द्र कर्णले महिलाको शरीरमा रौँ देखिने कारण हाइपोट्रिकोसिस भनिन्छ । त्यस्तै अनुहारमा दाह्री आउने, अनावश्यक रौँ पलाउने समस्यालाई  'हर्सुटिज्म' भनिन्छ । 

डा.कर्णका अनुसार शरीरमा अनावश्यक रौँ ५० प्रतिशतमा वंशाणुगत र ५० प्रतिशतमा  विभिन्न स्वास्थ्य समस्याका कारणले हुनेगर्छ । ५० प्रतिशत मध्ये ६० देखि ८० प्रतिशत हर्मोनसँग सम्बन्धित हुने गर्छन् । महिनावारीसम्बन्धी समस्या पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) को कारणले गर्दा पनि महिलाको शरीरमा अनावश्यक रौँ पलाउने डा.कर्ण बताउनुहुन्छ । यस्तो समस्या भएका महिलामा शरीरमा विशेषगरी, छाती तथा पेटमा  अनावश्यक रौँ, डण्डीफोर आउने, कपाल झर्ने जस्ता समस्या बढी देखिने गर्छन्। 

पेटमा भएको ग्रन्थीको आकार बढ्दा पनि शरीरमा अनावश्यक रौँ आउनुका साथै आवाज पुरुषको जस्तो हुने र शरीरको बनावट पुरुषको जस्तै देखिने डा.कर्णको भनाइ छ । यस्ता समस्या भएका महिलाको छातीको आकार पनि कम हुने गर्छ । थाइरोइड भएका बिरामीमा पनि अनावश्यक रौँ पलाउने उहाँ बताउनुहुन्छ । 

रोगबाहेक अनुहार राम्रो बनाउने स्टोरोइड प्रयोग गरेका कस्मेटिक क्रिम तथा औषधीको प्रयोग गर्दा पनि यस्तो समस्या निम्तिने गर्छ । यस्ता क्रिमले छाला पातलो बनाउने हुँदा अनुहारमा अनावश्यक रौँ पलाउनुका साथै डण्डीफोर आउने गर्छ । 

 गर्भावस्था, मोटोपन, गर्भनिरोधक चक्की, एलर्जीको औषधी र  महिनावारी सुक्ने बेलामा पनि यस्तो समस्या निम्तिने गर्छ । 

के कारणले शरीरमा अनावश्यक रौँ पलाएका छन् भन्ने रगत जाँच गरेर पत्ता लगाउन सकिने डा. कर्ण बताउनुहुन्छ । उहाँका अनुसार जे कारणले रौँ पलाएको हो त्यसको उपचार गरेर यसलाई कम गर्न सकिन्छ । 

उम्रिएको रौँ जरैदेखि हटाउने एक मात्र उपचार विधि भनेको लेजर थेरापी हो । डा. कर्णका अनुसार लेजर थेरापी छदेखि आठ पटक गर्दा यो समस्या जरैबाट निको बनाउन सकिन्छ।  उपचारपश्चात् बेला बेलामा चिकित्सकको परामर्शमा बस्नुपर्छ । त्यसबाहेक जीवनशैली सुधार गर्ने, मोटोपन नियन्त्रण गर्ने, प्रशस्त पानी पिउने, तनाव कम गर्ने,  ध्यान गर्ने जस्ता उपाय अपनाएर समस्या आउनबाट बच्न सकिन्छ । 

महिलाको अनुहारमा अनावश्यक रौँ आउने कारणले यसका उपचार विधिको विषयमा केन्द्रित भएर वरिष्ठ छालारोग विशेषज्ञ प्रा‍.डा. धर्मेन्द्र कर्णसँग सिर्जना खत्रीले गरेको कुराकानीका आधारमा मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री :

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।