• २४ पुस २०८१, बुधबार

व्यास गुफा र तनहुँसुर जोड्न हाफ म्याराथन

blog

व्यास नगरपालिका–१० दमौलीस्थित व्यास गुफामा रहेका व्यासका मूर्तिहरू । तस्बिर : अमररराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस २३ गते । खेलको माध्यमबाट पर्यटकीय स्थलको प्रवर्द्धन गर्न तनहुँको व्यास नगपालिकाले खुला महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर माघ १६ गते प्रतियोगिता गर्ने निर्णय भएको व्यास नगरपालिकाले जनाएको छ । 

व्यास नगरपालिका–३ स्थित व्यास गुफा, दमौलीबाट व्यास नगरपालिका–११ को ऐतिहासिक तनहुँसुर दरबार सम्मको खुला महिला हाफ म्याराथन प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको नगरपालिकाले जनाएको छ । भगवान् वेदव्यासको जन्मभूमि र पराशर ऋषिको तपोभूमि दमौली र ऐतिहासिक तनहुँका दरबारको स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्ने तथा खेलाडीलाई हौंसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गर्ने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । 

न्यौपानेले भन्नुभयो, “धार्मिकरूपमा परिचित व्यास गुफा र ऐतिहासिकस्थलको रूपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्यसहित म्याराथन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, । शहीद दिवसमा हरेक वर्ष गत वर्ष पर्यटकीय स्थल व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट व्यास नगरपालिका–८ स्थित शहीदहरूको गाउँ पुलिमर्‍याङसम्मको ४४ किलोमिटर दुरीको व्यास अल्ट्राम्यारथन प्रतियोगिता गर्दै आएकोमा यस वर्ष खुला महिला हाफ म्याराथन प्रतियोगिता गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । व्यास अल्ट्राम्यारथन र खुला महिला हाफ म्याराथन प्रतियोगिता आलोपालो गरिने नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

हाफ म्याराथन व्यास गुफादेखि सफा सडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिनेछ । उक्त दूरी २१ किमीको रहनेछ । विगतमा गरिएका प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।