• १८ असार २०८१, मङ्गलबार

रासायनिक मलको टुङ्गो लागेन

blog

रामेछाप, जेठ १० गते । रामेछाप जिल्लाको लिखुतामाकोसी गाउँपालिकाको बिजुलीकोटमा प्रहरीले नियन्त्रणमा लिएको रासायनिक मलको अझै टुङ्गो लागेको छैन । निर्वाचनको मुखमा इलाका प्रहरी कार्यालय धोबीले नियन्त्रणमा लिएको १०३  बोरा रासायनिक मलको विषय अझै अन्योलमा छ । 

नेकपा एमालेले किसानलाई मल बाँड्न ल्याएको भन्दै अवैध तरिकाले बिजुलीकोट पु-याइएको युरिया र डीएपी मल नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । एमालेले मतदातालाई प्रभावित पार्न ल्याएको भनिएको मल कांग्रेस समर्थक व्यापारीले ल्याएको खुलेपछि प्रहरीले कारबाहीमा ढिलाइ गरेको एमालेको आरोप छ । मल ल्याउने व्यापारीले प्रहरीमा त्यसको बिल बुझाउन नसकेका कारण सामान छुटाउन सकेका छैनन् । 

प्रहरीले ट्रक चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएको छैन । प्रहरी नियन्त्रणमा लिएको लिखुतामाकोसी गाउँपालिका वडा नम्बर ७ का २० वर्षीय ट्रक चालक आकाश सुनुवारलाई समेत छाडिदिएको छ । 

गत वैशाख २६ गते बिनाभ्याट बिलको युरिया ९३ बोरा र डीएपी १० बोरासहितको प्रदेश ३–०१–००५ ख ९८५२ नम्बरको ट्रक प्रहरीले नियन्त्रण लिएको थियो । प्रहरीका अनुसार लिखुतामाकोसी–४, कोटगाउँका धनबहादुर तिमल्सिनाको मनिष स्टोर एन्ड सप्लायर्सका लागि मल ल्याएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय धोबीका इन्चार्ज प्रहरी निरीक्षक जटाङ्कर यादवले रासायनिक मलको बिल र अन्य कागजात नभएकाले आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरेको बताउनुभयो । मलका विषयमा आवश्यक अनुसन्धान भइरहेको छ, निर्वाचनमा खटिएका कारण कारबाही प्रक्रियामा केही ढिलाइ भएको हो, उहाँले भन्नुभयो ।