• १२ असार २०८१, बुधबार

पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने खोप जुनमा आउने

blog

फाइल तस्बिर

काठमाडौं, जेठ ९ गते । नेपालमा पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउने कोरोनाविरुद्धको खोप जुन महिनामा आउने भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले बालकालिकालाई लगाउने कोरोनाविरुद्धको खोप जुन महिनाभित्र आउने जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप अनुदानमा आउन लागेको हो ।

उक्त खोप जुन महिनामा पटक–पटक गरेर आउने डा. चौरसियाले जानकारी दिनुभयो ।

यसअघि खरिद प्रक्रियाबाट खोप ल्याउन कार्य अगाडि बढाएको थियो । तर अनुदानको खोप आउने भएपछि खरिद प्रक्रिया रद्द गरेको डा. चौरासियाले जानकारी दिनुभयो ।

खोप सल्लाहकार समितिले सिफारिसपछि नेपालमा बालबालिकालाई दिने प्रक्रिया अगाडि बढेको थियो ।

खोप अभियान सुरु भएदेखि अहिलेसम्म चार करोड २४ लाख ९९ हजार ५७७ मात्रा खोप लगाइसकेको छ ।

एक करोड ८९ लाख ७५ हजार ५५४ जनाले एकमात्रा, एक करोड ९७ लाख ५० हजार ५८६ जनाले पूर्णमात्रा र ३७ लाख ७३ हजार ४३७ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् । सरकारले अहिलेसम्म विभिन्न माध्यमबाट पाँच करोड २४ लाख ९९ हजार ५७७ मात्रा खोप प्राप्त गरेको छ ।

सरकारले पूर्ण खोप लगाएको तीन महिना पुगेका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्दै आएको छ । सरकारसँग प्रदेश र केन्द्रमा कोभिसिल्ड, मोर्डना भेरोसेल, साइभ्याक्स, फाइजर गरेर ९४ लाख ४० हजार खोप स्टक रहेको डा. चौरासियाले जानकारी दिनुभयो ।