भाइबहिनीहरू, प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पत्तिलाई सम्पदा भनिन्छ । वनजङ्गल, हिमाल, ताल, झरना, नदीनाला, दरबार, मन्दिर, चाडपर्व, मेला, जात्रा, वेशभूषा आदि सम्पदा हुन् । सम्पदा मूर्त र अमूर्त हुन्छ । प्रत्यक्ष वा नाङ्गो आँखाले देख्न सकिने भौतिक अर्थात् मूर्त सम्पदा हो । मनले अनुभूति गर्न सकिनेलाई अभौतिक अर्थात् अमूर्त सम्पदा भनिन्छ । वनजङ्गल, हिमाल, दरबार आदि मूर्त सम्पदा हुन् । चाडपर्व, जात्रा, प्राचीन नाच आदि अमूर्त सम्पदा हुन् ।
बाँसबाट बनेको बाँसुरी मूर्त सांस्कृतिक सम्पदा हो । यसको निश्चित आकार हुन्छ । यसलाई छुन सकिन्छ । देख्न सकिन्छ तर बाँसुरी बजाउँदा उत्पन्न हुने धुन अमूर्त सम्पदा हो । बाँसुरीको मिठो धुन सुनेर मनमा आनन्द प्राप्त गर्न सकिन्छ । धुनलाई छुन सकिन्न । देख्न पनि सकिन्न । महसुस गर्न मात्र सकिन्छ ।
संयुक्त राष्ट्रसङ्घको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ छ । त्यसले प्रचलन, ज्ञान, सिप, साधन, वस्तु, कलावस्तु र तीसँग जोडिएका सांस्कृतिक स्थललाई अमूर्त सांस्कृतिक सम्पदा भनी परिभाषित गरेको छ । राष्ट्रसङ्घले तयार गरेका विभिन्न कानुन पालना गर्छौं भनी विभिन्न देशले हस्ताक्षर गर्ने चलन हुन्छ । विभिन्न देशले स्वीकार गरेको राष्ट्रसङ्घको कानुनलाई महासन्धि भनिन्छ । महासन्धिमा हस्ताक्षर गर्नुलाई सम्झौता भनिन्छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को स्थापना सन् १९४५ मा भएको हो । त्यसै बेलादेखि सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्धनको जिम्मा युनेस्कोलाई दिइएको हो । युनेस्कोको सन् २००३ अक्टुबर १७ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न ३२ औँ साधारण सभाले अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि पारित गरेको थियो । अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि सन् २००६ मा लागू गरियो । नेपालले यस महासन्धिमा सन् २०१० जुन १५ मा हस्ताक्षर गरेको थियो । महासन्धिमा हस्ताक्षर गर्नेलाई पक्ष राष्ट्र भनिन्छ । त्यसैले नेपाल पनि यो महासन्धिको पक्ष राष्ट्र हो ।
महासन्धिले अमूर्त सांस्कृतिक सम्पदाका विभिन्न पाँच विधा निर्धारण गरेको छ । त्यसले भाषासहितको मौलिक परम्परा र अभिव्यक्ति, अभिनय कला, सामाजिक व्यवहार, अनुष्ठान एवं चाडपर्व, उत्सव, प्रकृति र ब्रह्माण्डसँग सम्बन्धित ज्ञान र व्यवहार तथा परम्परागत कलाकौशलतालाई अमूर्त सांस्कृतिक सम्पदा हुन् भनेको छ । नेपालको सन्दर्भमा परम्परागत खेल र मौलिक एवं रैथाने पाकशैली (खाना) का विभिन्न परिकारलाई समेत अमूर्त सांस्कृतिक सम्पदामा लिन सकिन्छ । महासन्धिले अमूर्त सांस्कृतिक सम्पदालाई संरक्षण गर्नु पर्छ भनेको छ । महासन्धिले सबै समुदाय वा व्यक्तिका अमूर्त सांस्कृतिक सम्पदाको सम्मान गर्नु पर्छ पनि भनेको छ । यस्ता सम्पदालाई संरक्षण गर्ने जिम्मा हामी सबैको हो ।