उत्पादनका साधनमध्ये श्रमको स्थान अग्रस्थानमा आउँछ । उत्पादनका निम्ति श्रमसँगै भूमि, पुँजी र उद्यमको पनि आआफ्नै महत्व छ । औद्योगिक क्रान्तिपछि परम्परागत श्रमलाई यन्त्र तथा उपकरणले क्रमशः साथ लिँदै लगेका कारण तीव्र विकास युग सुरु भयो । विकसित देशहरूले औद्योगिक क्रान्तिको प्रतिफललाई उत्पादनमा लगाउन सके र आधुनिक विकासलाई व्यापक बनाए । त्यसरी आधुनिक विकासको युगमा चाँडो प्रवेश गर्न सक्ने मुलुक मानवीय विकासमा बहुआयामिक तवरले अग्रसर भए । व्यापक पूर्वाधारको विकासमा अझ अगाडि लाग्न सके र उच्च आर्थिक विकासको युगमा धेरै अघि पुग्न सके । श्रमको प्रभावकारी उपयोग गर्न नसक्ने अनि उद्यमशीलमा पछाडि परेका मुलुक भने अहिले पनि आर्थिक तथा सामाजिक विकासमा पछाडि नै छन् । नेपालले उत्पादनका साधनको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा नै समग्र विकासमा अझै चाहे जसरी अगाडि जान सकेको छैन ।
श्रमलाई उचित व्यवस्थापन गर्दै अगाडि बढ्न नेपालले प्रयास भने नगरेको होइन । लामो राजनीतिक आन्दोलनबाट प्राप्त सङ्घीय गणतन्त्रले सबै नागरिकको श्रमको उपयोग गर्ने राजनीतिक वातावरण भने बनेको छ । देशभित्र उत्पादनका सबै साधनको योजनाबद्ध व्यवस्थापन हुन नसक्दा लाखौँलाख नेपाली युवा देशबाहिर गएर श्रम गर्नुपर्ने अवस्थामा छन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौँमा मङ्गलबार आयोजित छैटौँ श्रम संसद्लाई सम्बोधन गर्दै उहाँले श्रमको व्यवस्थापनबाटै अगाडि बढ्न सकिने विचार व्यक्त गर्नुभयो । उक्त विचार अति सान्दर्भिक देखिन्छ । हुन पनि श्रमको सम्मान र उचित व्यवस्थापन नै समृद्धिमा पुग्ने सही मार्ग हुन सक्छ ।
दैनिक दुईतीन हजार युवा जनशक्ति देशभित्र उपयुक्त श्रमको अवसर पाउन नसकेकै कारण वैदेशिक रोजगारीमा जानु परेको छ । नेपालको कृषि क्षेत्रबाट श्रमिक विस्थापन व्यापक हुँदै गएको छ । गाउँघरका उर्वर जमिन बिस्तारै बाँझो हुँदै छन् । हरेक देशमा विकासको एउटा चरणमा कृषि क्षेत्रबाट श्रम विस्थापन हुने गरेको पाइन्छ तर कृषि क्षेत्रमा बढी भएको श्रम मात्र विस्थापन हुने छ । कृषि क्षेत्रबाट त्यसरी विस्थापन भएको जनशक्तिलाई देशको औद्योगिक र सेवा क्षेत्रले राम्रो अवसर दिएको हुन्छ । व्यापक औद्योगिकीकरणले कृषि क्षेत्रबाट विस्थापन भएका श्रमिकलाई काम दिएको हुन्छ । उद्योगधन्दाबाटै आधुनिक अर्थतन्त्र निर्माण हुन्छ । नेपालमा उद्योगधन्दाको प्रभावकारी विकास हुन सकेन । भएका कतिपय उद्योगधन्दा पनि अहिले पूर्ण क्षमतामा चल्न सकेका छैनन् । त्यसले पनि युवा श्रमिक काम खोज्न बाहिर जानुपर्ने बाध्यता आइपरेको छ ।
कृषि क्षेत्र पछाडि पर्दै गएपछि बर्सेनि ठुलो मात्रामा कृषि उपज आयात गर्नुपर्ने अवस्था छ । युवा जनशक्ति बाहिर गई ठुलो मात्रामा विप्रेषण पठाउने गरेका छन् । देशको वैदेशिक मुद्राको महत्वपूर्ण आयस्रोत नै अहिले विप्रेषण भएको छ । वार्षिक बजेटकै हाराहारीमा आउने विप्रेषण फेरि आयातका निम्ति देशबाहिरै जाने गरेको छ । विप्रेषणलाई देशभित्र उत्पादनका क्षेत्रमा लगानी गर्न नसक्दा थप रोजगारी सिर्जना हुन सकेको छैन । कृषि र उद्योगसँगै सेवा क्षेत्रमा पनि चाहेजसरी रोजगारी सिर्जना गर्न नसक्दा र श्रम गर्न सक्ने अवस्था नहुँदा नै झन्डै ८० लाख नेपाली श्रमशक्ति अहिले विश्वभर छरिएर रहेको छ । देशभित्र श्रम गर्न सक्ने अवसर सिर्जना गर्ने वातावरण बनाउनु अहिलेको सन्दर्भमा सबैभन्दा ठुलो चुनौती भएको छ ।
देशमा अहिले तीन तहका सरकार छन् । सङ्घ, प्रदेश र स्थानीय तहले श्रमको उचित सम्मान र उपयोग हुने गरी लगानीको वातावरण तयार गर्नु आवश्यक छ । देशभित्रकै पुँजीले मात्र व्यापक लगानी गर्न सकिने अवस्था छैन । व्यावसायिक कृषिलाई अग्रता दिन सके आयात प्रतिस्थापन गर्न सकिने छ । त्यसनिम्ति व्यावसायिक कृषिमा अब व्यापक लगानी गर्न तीन तहकै सरकारले ध्यान दिनु जरुरी छ । कृषिसँगै जलस्रोत र पर्यटन नेपालको विकासका मूल आधार हुन् । राष्ट्रपति पौडेलले भन्नुभए झैँ श्रमको उचित सम्मान र परिचालन गरी देशको आर्थिक तथा सामाजिक विकासका निम्ति प्रभावकारी कदम चाल्नुपर्ने बेला आएको छ । उत्पादनमा जोडिन सक्ने अधिक श्रमशक्ति भएको जनसङ्ख्याको लाभ नेपालले लिन सक्दा समृद्धि यात्रा सहज हुने देखिन्छ ।