अमररराज नहर्की
तनहुँ, पुस १७ गते। सरकार भौतिक पूर्वाधार र पर्यटन प्रवर्द्धन विकासमा प्रतिवद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताउनुभएको छ।
बन्दीपुरमा बुधबारबाट सुरु बन्दीपुर भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दैै मन्त्री दाहालले समृद्ध नेपाल सुखी नेपाली बनाउने प्रमुख आधार पर्यटन र पूर्वाधार भएकोले प्रतिबद्ध भएको बताउनुभयो।
‘‘मुलुकको दिगो विकासको लागि सरकारले भौतिक पूर्वाधारमा जुटिरहेको छ। देशको कुल बजेटको ८० प्रतिशत रकम भौतिक पूर्वाधारमा खर्च भइरहेको उल्लेख गर्दै मन्त्री दाहालले भन्नुभयो, ‘‘सडक र पुल निर्माण गरी पर्यटक आगमनलाई तीव्र बनाउन हामी लागि रहेका छौं।’’
बन्दीपुरको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्वयं बन्दीपुरवासीको योगदान उच्च रहेको मन्त्री दाहालले बताउनुभयो। जनताको आवश्यकतालाई मध्यनजर गर्दै सडक यातायात लगायतको पूर्वाधार विकासमा समेत वर्तमान सरकार लागि परेको समेत मन्त्री दाहालले जानकारी दिनुभयो।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा सरकार गम्भीर भएको बताउँदै मुलुक विकासमा एकाकार गर्न सबै नागरिकलाई समेत आग्रह गर्नुभयो।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यद्वय अशोककुमार श्रेष्ठ र हरिबहादुर चुमान, तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ, बन्दीपुर भ्रमण वर्षका संयोजक वैस गुरुङ, बन्दीपुर गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठ लगायतले पर्यटन लक्षित कार्यक्रम गर्न सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभएको थियो।
पहाडकी रानी उपनामले चिनिएको बन्दीपुर बजारमा मात्रै पर्यटक केन्द्रित भएकोले त्यसको लाभ गाउँसम्म पुर्याउने प्रमुख उद्देश्यले भ्रमण वर्ष सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
घुम्न आउने पर्यटकलाई बन्दीपुर बजार मात्रै नभई गाउँमा रहेका पर्यटकीय स्थलको अवलोकनको लागि अङ्ग्रेजी नयाँ वर्षदेखि सुरु गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो।
पर्यटन क्षेत्रको विविधिकरण र विस्तारको माध्यमबाट स्थानीय समुदायमा रोजगारीको सिर्जना गरेर जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने बन्दीपुर क्याम्पसका प्रमुख विक्रम पियाले बताउनुभयो।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले भिजिट बन्दीपुर–२०२५ मा वर्षभर यहाँ पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरिने बताउनुभयो। समूहमा आउनेलाई आवास, खानामा छुटको व्यवस्था गरिएको उहाँले बताउनुभयो।
पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर छ। पृथ्वीराजमार्गमा रहेको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ।