• १४ जेठ २०८१, सोमबार

जिसस गठनका लागि कांग्रेसको स्पष्ट बहुमत

blog

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, जेठ ९ गते ।  ओखलढुङ्गामा जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेसलाई स्पष्ट बहुमत प्राप्त भएको छ । स्थानीय तहको निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि कांग्रेसले एकल बहुमत बनाएको हो । 

स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा नेपाली कांग्रेसको तर्फबाट नौ जना मतदाता हुनुहुन्छ । एक नगरपालिकासहित सात गाउँपालिकाबाट १६ जना मतदातामध्ये नेपाली कांग्रेस एक्लैको नौ जना मतदाता छन् । यसैगरी नेकपा एमालेको पाँच, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबाट एक–एक जना हुनुहुन्छ । नेपाली कांग्रेसले मानेभञ्ज्याङ र सुनकोसी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै जितेको छ । 

यसैबीच सिद्धिचरण नगरपालिकामा प्रमुख, खिजिदेम्बामा उपाध्यक्ष, चिशङ्खगढीमा उपाध्यक्ष, लिखुमा अध्यक्ष र चम्पादेवी गाउँपालिकामा अध्यक्ष कांग्रेसले जितेको छ । नेकपा एमालेले मोलुङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै लिखुमा उपाध्यक्ष, चम्पादेवी गाउँपालिकामा उपाध्यक्ष र सिद्धिचरण नगरपालिकामा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले चिशङ्खुगढीको अध्यक्ष र जनता समाजवादी पार्टीले खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष जितेको छ । जिल्लाका ७५ वडामध्ये नेपाली कांग्रेस ४५, नेकपा एमाले २०, माओवादी केन्द्र आठ र जनता समाजवादी पार्टीले दुई वडा जितेका छन् ।