• ६ जेठ २०८१, आइतबार

पहिले जोसँग हारे, अहिले उसैलाई हराए

blog

हिले समाचारदाता

हिले, जेठ ९ गते  । पहिलो स्थानीय तह निर्वाचनमा साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कुमारजङ्ग याखा निर्वाचित हुनुभयो, त्यो बेला पराजित उम्मेदवार हुनुन्थ्यो नेपाली कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र राई । यस प्रतिस्पर्धामा बाजी कुमारजङ्ग याखाले मार्नुभएको थियो । पाँच वर्षपछि दोस्रो स्थानीय तह निर्वाचनमा पुनः यी दुई बीच चुनावी प्रतिस्पर्धा भयो । जसमा यो पटक भने कांग्रेसका जितेन्द्र राईले बाजी मार्नुभयो । 

त्यसबेला उहाँहरू बीचको मतान्तर फराकिलो थियो । कुमारजङ्ग याखाले चार हजार ४४९ मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेसका राईले तीन हजार ३३३ मत प्राप्त गर्नुभएको थियो । मतान्तर एक हजार ११६ थियो । यस पटकको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित राईले पाँच हजार ३९९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्ष याखाले चार हजार ८२८ मत प्राप्त गर्नुभयो । यो पटकको निर्वाचनमा उहाँहरू बीचको मतान्तर ५७१ मात्र भयो ।

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट राजनीति यात्रा सुरु गर्नुभएका राईले २०५९ सालमा भेडेटार उक्लिएर भेडेटार बजार चोकमा होटल भ्यु सञ्चालन गर्नुभयो । पनि उहाँलाई राजनीतिको लतले छोड्न सकेन । नेपाली कांग्रेसको १२औँ महाधिवेशन अघि उहाँ साबिक नेपाली कांग्रेस भेडेटार गाविस सचिव भएर राजनीति सुरु गर्नुभयो । महाधिवेशनपश्चात् उहाँ नेपाली कांग्रेस धनकुटा क्षेत्र नम्बर १ का क्षेत्रीय समिति निर्वाचित हुनुभयो । १३ महाधिवेशन क्षेत्रीय सभापतिमा निर्वाचन भएका उनी भर्खरै सम्पन्न १४औँ महाधिवेशमा पनि पुनः क्षेत्रीय सभापतिमै निर्वाचित हुनुभयो । होटल एसोसिएन अफ भेडेटारका संस्थापक सचिव हुँदै अहिले उहाँ वर्तमान अध्यक्षसमेत हुनुहुन्छ । 

हारले सिकाएको पाठ

२०७४ सालको स्थानीय तहमा निर्वाचनमा पराजित हुँदा पनि आफूले हरेस नखाएको उहाँ बताउनुहुन्छ । पराजित हुँदाको पीडासँगै त्यसबेला मतान्तर पनि फराकिलो थियो । “जनताबाट अझै अनुमोदित हुन नसकेको कुरालाई पाठका रूपमा सिकेको छु । निर्वाचित नहुँदा पनि जनताको साथमै रहेँ । नजिक रहेर जनताको काममा खटेँ । निरन्तर पार्टीको सङ्गठनमा क्रियाशील भएँ । जनताको घर–घरमा पुगेर दुःख सुखमा साथ दिए । यो पटकको निर्वाचनमा जनताले पत्याए । जनताबाट नै अनुमोदित भएँ” उहाँले भन्नुभयो । 

गाउँपालिकामा समस्याको चाङ धेरै रहेको र अघिल्लो चुनावबाट निर्वाचित जनप्रतिनिधिको कामबाट जनता सन्तुष्ट नरहेको उहाँको दाबी छ । “स्थानीयस्तरमा धेरै नै समस्या छन् । जनताको मागलाई प्राथमिकता राखेर काम गर्छु,” उहाँले भन्नुभयो ।