• १२ असार २०८१, बुधबार

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

blog

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ।तस्विरःफाइल

धनगढी, जेठ ८ गते । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना विजयी हुनुभएको छ । 

हमालले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गरी मेयरमा जित हासिल गर्नुभयो । विजयी हुनुभएका उहाँले २६ हजार ८६५ मत प्राप्त गर्नुभयो । पराजित वडले १४ हजार ८१७ मत प्राप्त गर्नुभयो । यसअघि, २०७४ को निर्वाचनमा स्वतन्त्रबाटै चुनाव लड्नु भएका हमाललाई पराजित गरेर वड मेयरमा निर्वाचित हुनुभएको थियो । यसैगरी, नेकपा (एमाले) बाट मेयरका उम्मेदवार रणबहादुर चन्दले नौ हजार ११५ मत प्राप्त गर्नुभयो । 

यस्तै, उपमेयरमा विजयी हुनु भएका रानाले १५ हजार ४७९ मत प्राप्त गर्नुभएको छ । उहाँले गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शान्ति अधिकारीलाई दुई हजार ८०९. मतान्तरले पराजित गर्नुभयो । पराजित हुनुभएकी अधिकारीले १२ हजार ६७० मत प्राप्त गर्नुभयो । गठबन्धनको विरोध गर्दै नेपाली काँग्रेसका नेता प्रभाकर भण्डारीले स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिनुभएको थियो । त्यसको फाइदा नेकपा (एमाले) का उम्मेदवारलाई भएको छ । भण्डारीले छ हजार ६०९ मत प्राप्त गर्नुभयो ।

धनगढी उपमहानगरपालिकामा कुल ९३ हजार १५१ मतदाता रहेकोमा ६३ हजार ७१५ (६८.४० प्रतिशत) मत खसेको थियो । १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकाको ११ वटा वडाध्यक्षमा नेपाली काँग्रेस, छ वटा वडामा नेकपा (एमाले) र दुई वटा वडामा नेकपा (माओवादी केन्द्र) ले वडाध्यक्ष जितेको छ । 


Author
अविनाश चौधरी

उहाँ धनगढीबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।