काठमाडौँ, पुस १० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने दाबी गर्नुभएको छ ।
काठमाडौँमा तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले बुधबार आयोजना गरेको ‘तमू पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण’ कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सांसद सूर्य थापाको नेतृत्वमा बनेको प्रतिवेदनमा रहेका सहकारी ठगी आरोपित सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताउनुभएको हो ।
"प्रतिवेदनमा उल्लेख भएका व्यक्ति एकैचोटी कारबाहीमा ल्याउन सक्दैनौँ । पालैपालो गरेर कसैलाई पनि छोड्ने छैनौँ”, उहाँले भन्नुभयो,“सहकारी ठगी गर्नेहरू उम्किन्छु भन्ने नसोचे हुन्छ ।” मन्त्री गुरुङले सहकारी ठगी आरोपमा अनुसन्धानको प्रक्रियामा रहेका रास्वपाका नेता रवि लामिछानेलाई छुटाउन गरिएको विरोध असंवैधानिक कार्य रहेको बताउनुभयो । अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने काम भइरहेको भन्दै यो लोकतान्त्रिक पद्धतिविपरीत कार्य भएको सुनाउनुभयो । मन्त्री गुरुङले सहकारी ठगीको विषयमा कसैलाई पनि छोड्न नमिल्ने पटक पटक दोहोर्याउनुभएको छ । मन्त्री गुरुङले भन्नुभयो,“सहकारी ठगी गर्ने चाहे त्यो कांग्रेस, एमाले, माओवादी होस् या जोसुकै हामी छोड्दैनौँ ।”
कार्यक्रममा उहाँले रास्वपा पार्टीलाई मात्रै टार्गेट गर्याे सरकारले भन्नु गलत बुझाइ रहेकोमा प्रस्ट पार्नुभयो । यस्तो होहल्लाले सहकारी ठगीको छानबिन र अनुसन्धानलाई ओझेलमा पार्न गरिएको चलखेल रहेको सुनाउनुभयो । “रास्वपाले के बुझ्नु पर्याे भने आफ्नो नेता छानबिनको दायरामा छन् भने छानबिन हुन दिनुपर्याे”, मन्त्री गुरुङले भन्नुभयो,“अदालतको नतिजा पर्खनुपर्छ । सहकारीको छानबिनको दायरामा परेका रवि लामिछानेलाई छाडिनुपर्छ भन्ने अप्रजातान्त्रिक र असंवैधानिक कुरा हो ।”