• ९ माघ २०८१, बुधबार

बदलाको भावले प्रेरित ‘बमबहादुर’

blog

काठमाडौँ, पुस ८ गते । विश्वमै गौरवमय इतिहास बनाएको गोर्खालीका बारेमा अनेकन रमाइला र घतलाग्दा किस्सा सुन्न पाइन्छ । झन् गोर्खालीको वीरताको कथा सुन्दै जाने हो भने आङ नै जिरिङ्ग बनाउँछ । त्यसमाथि कम्मरमा भिर्ने र हातमा नचाउने खुकुरीको सान नै बेग्लै छ । नेपाली चलचित्र क्षेत्रमा गोर्खालीका विषयमा मन छुने चलचित्र बन्दै आएका छन् । ‘गोर्खे’, ‘गोर्खा पल्टन’, ‘सोल अफ दी कमान्डो’, ‘गोर्खा : बिनिथ दी ब्रेभरी’ ‘गोर्खा वारियर्स’ लगायतका चलचित्रले गोर्खा सैनिकको योगदान र बलिदानीपूर्ण इतिहासलाई इङ्गित गर्न खोजेको छ । 

आजभन्दा ३८ वर्षअघि गोर्खाल्यान्डको नामलाई लिएर भारतको दार्जिलिङ र डुअर्स क्षेत्रमा चर्किएको आन्दोलनको विषयलाई लिएर बनेको चलचित्र ‘बमबहादुर’ प्रदर्शनमा आएको छ । चलचित्र सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह अवरोहको कथा पनि हो । भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरू चलचित्रमा देख्न सकिन्छ । 

बमबहादुर (सौगात मल्ल) ले बाल्यकालमा गोर्खाल्यान्डका बारेमा धेरै कुरा देखेको र भोगेको छ । चलचित्रको कथा सुरु हुन्छ बमबहादुरको युवा अवस्थाबाट जो जान्ने, बुझ्ने भइसकेको छ । साधारण दिनचर्या चलाउँदै आएको बमबहादुर मोटसाइकल ग्यारेजमा काम गर्छन् । बिहान काममा जाने र बेलुकी घर फर्किने उनको दिनचर्या हुन्छ । समय समयमा छोरीसँग कुरा गर्दा ऊ केही भावुक पनि देखिन्छ । साथै ऊभित्र बदलाको भावना पनि गुम्सिरहेको हुन्छ । उसले आफ्नो घरमा कसैलाई कैदी बनाएर लुकाएर राखेको छ भने कसैलाई उसले जङ्गलमा लगेर मारिदिन्छ । सोझो देखिने बमबहादुरलाई मान्छे नै मार्नु पर्ने त्यस्तो के बाध्यता आइप¥यो । ऊभित्र बदलाको भावना कसरी आयो, चलचित्रको कथा यिनै कुराको वरिपरि घुमेको छ । 

सस्पेन्ससँगै मार्मिक कथा बोकेको चलचित्रले अब आन्दोलन खुकुरी र बन्दुकले होइन दिमागले लड्नु पर्छ भन्ने सन्देश दिन खोजेको छ । चलचित्रमा बमबहादुर आफैँ खुकुरी र बन्दुकको साथ लिन्छन् जसको नतिजा कहिले पनि राम्रो हुँदैन् । ‘तैले जे चाहिस्, त्यही पाइस् बम तर तैँले के पाइस् के गुमाइस्’ भन्ने प्रश्नमा चलचित्र टुङ्गिएको छ । 

निर्देशक जोन राईको निर्देशकीय पक्ष राम्रो छ । गोर्खाल्यान्डको आन्दोलनका बारेमा उहाँले धेरै कुरा चलचित्रमार्फत दर्शकले बुझ्ने तरिकाले प्रस्ट्याउनु भएको छ । कलाकार सौगात मल्लको अभिनय तारिफयोग्य छ । फरक र भिन्न चरित्र उहाँलाई सुहाएको छ । प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, सुरेश पन्चकोटी, प्रभात पाख्रिनलगायाको अभिनयलाई पनि हामीले भुल्न सकिँदैन ।