लीलाराज खड्का
विर्तामोड, पुस ६ गते । गोरखापत्र दैनिकका ताप्लेजुङ समाचारदाता चन्द्र पन्दाकलाई ५१ हजार रुपियाँ राशिको पुरस्कार प्रदान गरिएको छ । झापास्थित भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट गोरखापत्रकर्मी पन्दाक पुरस्कृत हुनु भएको हो ।
पवित्रा–भेषराज स्मृति प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाका अनुसार भरत भुर्तेल स्मृति प्रतिष्ठान–२०८१ बाट आठौं संस्करणअन्तर्गतको उक्त पुरस्कार पत्रकार पन्दाकलाई प्रदान गरिएको हो ।
हिमाली जिल्ला ताप्लेजुङबाट करिव दुई दशक लामो समयदेखि निरन्तर पत्रकारिता गर्दै आउनुभएका पन्दाकले गर्नुभएको योगदानको सम्मान गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कर छनोट समितिका संयोजक चन्द्र भण्डारीले जानकारी दिनुभयो ।
प्रतिष्ठानले शनिबार धुलाबारीमा आयोजना गरेको कार्यक्रमबिच पत्रकारितासँगै अन्य विभिन्न विधाका पुरस्कारसमेत वितरण गरिएको छ । जसमा उत्कृष्ट विद्यालयतर्फ बालकल्याण माध्यमिक विद्यालयलाई पुरस्कृत गरिएको छ । सो विद्यालयलाई ७५ हजार रुपियाँ पुरस्कार रकम प्रदान गरिएको संयोजक भण्डारीले बताउनुभयो ।
उहाँकाअनुसार उत्कृष्ट शिक्षक गङ्गाराम राई, उत्कृष्ट अङ्ग्रेजी विषयका शिक्षक कुलमणि भण्डारीलाई पुरस्कृत गरिएको छ । शिक्षकद्वयलाई जनही १५ हजार रुपियाँका दरले पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, यसपालीको एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल छात्र सगुन सुवेदी र छात्रा युना गौतमलाई पनि पुरस्कृत गरिएको छ ।
लोपोन्मुख जातिका उत्कृष्ट विद्यार्थी शान्ति आधारभूत विद्यालयमा अध्ययनरत छात्र मञ्जिल लेप्चा र छात्रा सलमा लेप्चाालाई पनि पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ । पुरस्कृत विद्यार्थीलाई जनही सात हजार ५०० रुपियाँका दरले पुरस्कार रकम प्रदाान गरिएको प्रतिष्ठानका सचिव शिरो सान्दाई खतिवडाले जानकारी दिनुभयो ।
यता विभिन्न विधामा पुरस्कृत व्यक्ति तथा संस्थालाई कार्यक्रमका प्रमुख अतिथि जनस्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेतीलगायतले वितरण गर्नुभएको थियो । वि.सं २०७० सालमा स्थापना भएको पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले भरत भुर्तेल स्मृति पुरस्कारसहित विभिन्न विधाका सम्मान तथा पुरस्कार वितरण गर्दै आएको जनाएको छ ।