• १३ वैशाख २०८१, बिहिबार

बदलिँदो लमी प्रथा

blog

पहिलेपहिले लमीकै भरमा बिहे गर्ने चलन थियो । केटाकेटीको कुरादेखि बिहेको सम्पूर्ण काम लमीबाट नै हुने गथ्र्याे तर अहिले सबै जना प्रविधिमैत्री बनेका छन् । लमी अर्थात् विवाहका लागि केटाकेटी र परिवारबीच सूचना आदानप्रदान गर्ने व्यक्ति । लमीलाई कुरा मिलाउन जान्ने व्यक्तिका रूपमा लिइन्छ । जस्तै, पहिलेपहिले विवाहका लागि वर वा वधु खोज्दा लमीको यो थेगो निकै प्रचलित थियो– केटी कस्ती छे भन्दा ‘हेर्नै नपर्ने’ र केटो कस्तो छ भन्दा ‘बोल्नै नपर्ने’ । सायद अझै पनि होला यो थेगो । यसरी विवाह गराउने चलन थियो । 

संस्कृतिविद् हरिराम जोशीका अनुसार मध्यकालदेखि लमीको परम्परा सुरु भएको मानिन्छ । नेवार जातिमा थरीथरीका विवाह परम्परा छन्, जसमध्ये लमी राखेर विवाह गर्ने परम्परा पनि एक हो । नेवार समुदायका रैथाने नेवारमा लमी राख्ने चलन धेरै रहेको जोशी बताउनुहुन्छ । 

“लमी राखेर विवाह गर्ने चलन अझै पनि छ,” उहाँले भन्नुभयो, “नेवार समुदायमा ‘लभ म्यारिज’मै पनि लमी राख्नुपर्ने चलन छ । केटा र केटीका बाबु–आमाबीच कुराकानी मिल्यो भने पनि लमी राखेर नै विवाह गराइदिनुपर्ने चलन अझै छ ।” “विवाहका लागि केटा वा केटी पक्षले सिधै सम्पर्क राख्न सक्दैन, सिधै गएर कसैसँग छोरी माग्ने राम्रो तरिका पनि होइन,” जोशी भन्नुहुन्छ, “तेस्रो व्यक्तिको मद्दतबाट विवाहका काम सम्पन्न हुन्थ्यो ।” 

भगवान्कै पालाबाट लमी 

लमी राख्ने परम्परा परापूर्वकालमा भगवान् शिवको विवाहदेखि चलन रहेको जोशी बताउनुहुन्छ । 

‘दक्ष प्रजापतिका छोरीको ३३ कोटी देवतासँग विवाहका कुरा गर्न नारदमुनि लमीको भूमिकामा देखिनुभएको थियो ।’ यस्तै दक्ष प्रजापतिकी छोरी सतीदेवीसँग महादेवको विवाहका कुरा पहिलो पटक भगवान् विष्णुले गर्नुभएको उहाँको भनाइ छ । 

के भन्छन् त लमी ?

विवाहको सिजनमा ललितपुरकी ५९ वर्षीया तारा राजथलालाई विवाहयोग्य कन्या वा वरलाई चिन्न र चिनाउँदैमा समय जान्छ । उहाँ पेसाले ‘लमी’ हुनुहुन्छ । उहाँ लमीको पेसामा २० वर्षको उमेरदेखि लाग्नुभएको हो । 

उहाँले भन्नुभयो, “आफ्नो बिहेका लागि म आफैँ लमी बनेको थिएँ, आफैँले खोजेर मैले बिहे गरेकी हुँ ।” उहाँले अहिलेसम्म करिब दुई सय जनाको बिहे गराइसक्नुभएको छ । तारा सम्झिनुहुन्छ, “यो पेसा मैले कसैबाट सिकेको होइन, लमीको अर्थ थाहा नहुँदैमा मैले सानीआमाको बिहे मिलाएको थिएँ ।” घर बनाउने काममा जान्थेँ, काममा जिस्किँदै मैले त्यो जोडी मिलाएको थिएँ । उहाँले यहीँबाट लमी पेसा सुरु गर्नुभएको बताउनुभयो । 

“यो पेसामा लाग्दा घरपरिवारअनुसार कमाइ हुन्छ, जस्तै– धनी परिवारसँग काम गर्दा कमाइ राम्रो हुन्छ,” ताराले भन्नुभयो, “बिहे भएपछि पनि म घरपरिवार भेट्न समयसमयमा जाने गर्छु, सम्झाउने गर्छु, यसले परिवारमा प्रेम गाढा बनाउँछ जस्तो मलाई लाग्छ ।’’ सम्पन्न परिवारको मागअनुसार वर र वधु मिलाउन सकियो भने उहाँहरू खुसी भएर धेरै उपहार दिने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार सम्पन्न परिवारसँग काम गर्दा ६० हजार रुपियाँसम्म पारिश्रमिक पाइन्छ । 

“पैसाबाहेक पनि लमीलाई नयाँ लुगा दिने चलन छ, लुगाबाहेक आफूखुसी जे पनि उपहार दिन्छन्,” उहाँले भन्नुभयो । यस्तै मध्यम परिवारका लागि वर र वधु मिलाएबापत २० देखि २५ हजार रुपियाँ कमाइ हुने उहाँ बताउनुहुन्छ । यसबाहेक गरिब परिवार वा आमाबा नभएका व्यक्तिका लागि आफैँले पनि खर्च गरेर बिहे गराउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार जोडी बनाइदिने काम एउटा धर्म पनि हो । 

प्रविधिका कारण यो पेसामा आफूले धोका धेरै पाउने गरेको उहाँ बताउनुहुन्छ । “ममार्फत केटाकेटी भेट्छन् तर सामाजिक सञ्जालमा कुरा गर्न थालेपछि मलाई नै बेवास्ता गर्छन्,” उहाँ भन्नुहुन्छ, “यसरी हामीलाई धोका दिने मानिस धेरै छन् ।” यो पेसा सुरु गरेदेखि अहिलेसम्म खाली बस्न नपरेको उहाँ बताउनुहुन्छ । “यो पेसाले जीवनयापन सजिलै गर्न सकिन्छ । आजसम्म यही पेसाले जीवन चलाएको छु, आगामी दिनमा पनि चल्नेछ,” उहाँले भन्नुभयो । 

उहाँका अनुसार यो पेसा ‘च्यालेन्जिङ’ छ । “धेरैले लमीले गफ नै गरेर खाने हो भन्छन्, यो गलत हो,” उहाँ भन्नुहुन्छ, “यो पेसामा धेरै अप्ठ्यारो पनि बेहोर्नुपर्छ, यसका लागि आफू पनि तयारी अवस्थामा बस्नुपर्छ ।” यसैगरी ५१ वर्षीया सरिता श्रेष्ठलाई लगनगाँठो जुराउने काम साह्रै मन पर्छ । उहाँले यो पेसा अपनाउनुभएको १० वर्ष भयो । उहाँ भन्नुहुन्छ, “जीवनमा एक जनाको भए पनि जोडी मिलाउनुपर्छ भन्ने सुनेको छु ।” काम गर्दा धरै समस्या भोग्नुपर्छ र खर्च पनि धेरै लाग्छ । मान्छेको परिवार र मनमस्तिष्कसम्म बुझेर उसका लागि वर र वधु खोज्नुपर्ने उहाँको भनाइ छ । “कतिलाई चित्त बुझाउनै गाह्रो हुन्छ । लमीले वर वा वधु खोज्दैमा जोडी बन्न सक्दैन,” उहाँ भन्नुहुन्छ– हाम्रो काम खोज्ने, देखाउने र सकेसम्म मिलाउने हो । ३२ लक्षण मिलाउन सकिन्न र भविष्यको जिम्मा पनि लिन सकिँदैन । बाँकी भाग्यमा जे लेखेको छ, त्यही हुन्छ ।”

विवाहका लागि एक जना मात्र लमीले काम गर्न निकै गाह्रो हुने सरिता बताउनुहुन्छ । दुई जना लमी मिलेर काम गर्न सकियो भने राम्रो हुने उहाँको अनुभव छ । काम बाँडफाँट गरेर एक जना केटाका तर्फबाट र अर्को केटीका तर्फबाट राख्ने चलन छ । केटातर्फका लमीले केटाको परिवार र विवाहयोग्य वरबारे जानकारी केटीको परिवारलाई दिने गर्छन् । यसरी केटी पक्षका लमीले पनि वधुको सबै जानकारी केटापक्षका लमीलाई दिन्छन् ।  सरिता भन्नुहुन्छ, “धेरै पैसा माग्न मिल्दैन ।” उहाँले एक जोडा मिलाएको २० हजारसम्म लिने गर्नुहुन्छ । उहाँका अनुसार लमी भगवान्लाई भाग छुट्याउनु पर्छ भन्ने भनाइ पनि छ । यस्तै रमा कार्की (नाम परिवर्तन)ले यो पेसा आफ्नो इच्छाले सुरु गर्नुभएको हो । उहाँ घरपरिवारबाट लुकेर लमी काम गर्नुहुन्छ । लुक्नुपर्ने कारण सुनाउँदै उहाँ भन्नुहुन्छ, “मेरो श्रीमान् सरकारी सेवामा हुनुहुन्छ, जागिरले गर्दा उहाँ सधैँ मसँगै बस्नुहुन्न । उहाँ नभएको बेला मैले काम गर्ने हो, उहाँलाई थाहा भयो भने त अरूको घर बसाउन हिँडेको मैले आफ्नै घर छोड्नुपर्ने अवस्था आउनसक्छ ।” “समाजमा अझै पनि लमीलाई नराम्रो दृष्टिकोणले हेर्ने चलन छ, यसमा परिवर्तन कहिले आउने थाहा छैन,” उहाँले भन्नुभयो । 

“पढेको भए पो राम्रो जागिर खान्थेँ, जे सकिन्छ त्यही गर्नुप¥यो । फेरि कुनै काम ठूलो र सानो हुँदैन । डाक्टरदेखि इन्जिनियरसम्मको जोडी मिलाएको छु । मलाई सबैले माया गरेर ‘आन्टी’ भन्छन्,” ठट्यौली भाषामा उहाँले भन्नुभयो । विवाहका लागि केटा र केटी खोजिदिने विभिन्न ‘एप’ आएका छन् । त्यसैले बिहेका लागि अहिले लमीमै भर पर्नुपर्ने अवस्था छैन । नेपाली म्याटे«मोनी, बिहे नेपाल आदि यसका उदाहरण हुन् तर शुल्क भने लमीको भन्दा बढी तिर्नुपर्ला कि !