धनगढी समाचारदाता
धनगढी, पुस ४ गते । कैलालीको शिवगङ्गा नदीमा पुल निर्माणमा चरम ढिलासुस्ती भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ लाई जोड्ने शिवगङ्गा पुल निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ती गरेको हो । ठेक्का सम्झौता अनुसार चार वर्षअगाडि नै निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने शिवगङ्गा पुलको अहिलेसम्म जग पनि तयार भएको छैन तर निर्माण कम्पनी पप्पु एडभेन्चर जेभीले ३० प्रतिशत काम पूरा भएको भन्दै तीन करोड १३ लाख ७२ हजार रुपियाँ भुक्तानी लिइसकेको छ ।
कुल ठेक्का रकमको २२ प्रतिशत रकम भुक्तानी लिइसकेको निर्माण कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म पुल निर्माण गर्न सकेको छैन । सुरुमै निर्माण कम्पनीले लापर्बाही गरेका कारण यतिको वर्षसम्म पुलको काम हुन नसकेको सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेशकुमार यादवले बताउनुभयो । “पछि टेक्निकल समस्याका कारण काम भएन,” उहाँले अगाडि थप्नुभयो, “निर्माण कम्पनीले काममा लापर्बाही नगरेको भए पुल बनिसक्थ्यो ।”
सङ्घीय सरकारको लगानीमा निर्माण हुने सो पुल बनाउनका लागि सडक डिभिजन कार्यालयले २०७४ असार २७ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । २०७७ असार २५ गतेभित्र निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता भए पनि म्याद थप गर्दासमेत काम भएको छैन । १६० मिटर लामो बन्ने पुलको कुल ठेक्का लागत रकम १४ करोड २६ लाख रुपियाँ रहेको छ । ‘क्रोनिक’ बनेर अधुरै रहेको यो पुलको डिजाइन पुनः अवलोकन गरेर निर्माणको काम अगाडि बढाउने डिभिजन प्रमुख यादवले बताउनुभयो । “यो वर्ष जसरी पनि पुल निर्माणको काम हुन्छ,” उहाँले भन्नुभयो, “काम सुरु गर्ने भनेर जग खन्ने काम भइसकेको छ ।”
निर्माण कम्पनीले पहिले फाउन्डेसन तयार पारेबापतको भुक्तानी लिएको प्रमुख यादवले बताउनुभयो । सात वर्ष लगाएर जग पनि बन्न नसकेको पुलको आगामी असार मसान्तसम्म म्याद थप गरिएको छ । थपिएको समयावधि पनि अब सात महिना मात्रै बाँकी रहेकाले सात वर्षमा बन्न नसकेको पुल सात महिनामा बन्न सक्ने सम्भावना देखिँदैन । निर्माण कम्पनीले सकेसम्म यही आर्थिक वर्षभित्रै पूरा हुने गरी काम गर्नुपर्ने प्रमुख यादवको जोड छ ।
शिवगङ्गा पुल र वडा नम्बर १७ मै खुटिया नदी पुलको सँगै ठेक्का सम्झौता भएको थियो । खुटिया नदीमा चार वर्षअगाडि नै पुल बनिसकेको छ । कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिर जाने बाटोमा पर्ने शिवगङ्गा पुल बन्न नसक्दा यात्रुले समस्या झेल्दै आएका छन् । बर्खायाममा उनीहरू जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ । धनगढी उपमहानगरपालिका–१७ का वडाध्यक्ष माधवराज रानाले शिवगङ्गा पुलसँगै शिलान्यास भएको खुटिया पुल बने पनि शिवगङ्गा पुल निर्माणको काम नभएको बताउनुभयो ।