गुणबहादुर रोका
सुलीकोट, पुस १ गते । जाडो मौसम सुरु भएसँगै बालबालिकालाई न्यानो कपडा, झोला र शैक्षिक सामग्री वितरण गरिएको छ । गोरखाको पालुङटार नगरपालिका–९ स्थित सामुदायिक विद्यालय त्रिवेणी माध्यमिक विद्यालय सेरामा अध्यानरत ५३ जना बालबालिकालाई न्यानो कपडा, झोला र शैक्षिक सामग्री वितरण गरिएको हो ।
तीन वटा प्राथामिक विद्यालयलाई गाभेर गरी माध्यमिक विद्यालय बनेको त्रिवेणी माध्यमिक विद्यालयलमा अध्ययन गर्ने बालबालिकालाई पालुङटार ९ सेरामा स्थानीय बसोबास गर्ने बेलायती सेनामा कार्यरत दिपेश राना मगरको सहयोगमा न्यानो कपडा, झोला र शैक्षिक सामग्री वितरण गरिएको त्रिवेणी माध्यमिक विद्यालयका प्राधानध्यापक गणेशराज सेडाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्रिवेणी माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार, सर्वोकृष्ट नतिजा, अनुशासित, उच्चतम हाजिरी, सिर्जनात्माक क्षमता र अति विपन्न ५३ जना विद्यार्थीलाई मुस्कान फन्डका प्रोपाइटर मुस्कान मगरले एक कार्यक्रमका बिच सोमबार वितरण गर्नुभएको उहाँले बताउनुभयो ।
२०६५ साल माघ १३ गते तत्कालीन धुवाँकोट गाबिस–९ स्थित सेराको जाल्पादेवी प्रावि, धुवाँकोट गाविस–८ फेदी चौताराको बालज्योति प्रावि र मिरकोट गाविस–८ को वीरेन्द्र परोकार प्राविलाई आम अभिभावकको सहमतिमा मर्च गरी त्रिवेणी माध्यमिक विद्यालय नामकरण गरिएको विद्यालयले जनाएको छ ।
सोहि सामुदायिक विद्यालयले जिल्लामा उत्कृष्ट नतिजा प्रदर्शन गर्दै पालुङटार नगरपालिकाबाट २ लाख रुपियाँ र जिल्लाबाट ४ लाख रुपियाँ प्राप्त गर्न सफल भएको बताइएको छ । विद्यालयमा गरिने सहयोगले विद्यार्थीको गुणस्तरीय नतिजा निकाल्न सहयोग पुग्ने सेडाईको भनाइ छ ।
त्यस्तैगरी २०७८ सालबाट कक्षा ९ देखि १२ सम्म कृषि धार बालीविज्ञान विषयको पढाइमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ। सामुदायिक विद्यालयभरिमा त्रिवेणी माध्यमिक विद्यालयमा झण्डै ४ सय जना विद्यार्थी अध्ययन गर्ने गरेको प्राधानध्यापक सेडाईले बताउनुभयो ।