• १० माघ २०८१, बिहिबार

महिला श्रमिकलाई खाडी मुलुकमै श्रम स्वीकृति दिइने

blog

काठमाडौँ, पुस १ गते । श्रम स्वीकृति नलिई विदेशमा बस्न बाध्य घरेलु श्रमिक महिलालाई सरकारले श्रम गन्तव्यमै श्रम स्वीकृति दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरुमा श्रम स्वीकृति लिएर विदेश गएका तर समय सकिएपछि नवीकरण गर्न नपाएका महिला श्रमिकलाई गन्तव्य देशमै श्रम स्वीकृति दिने तयारी गरेको हो । श्रम मन्त्रालयले भ्रमण भिसा र अन्य माध्यमबाट मध्यपूर्वका देश (खाडी) मा पुगेर काम गरेका घरेलु श्रमिक महिलालाई पनि दूतावासबाट नयाँ श्रम स्वीकृतिका लागि तयारी भएको जनाइएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार श्रम स्वीकृति नपाएका कारण कतिपय महिला स्वदेश फर्कन नसकेका तथा सुरक्षित रोजगारीकै अवस्थामा रहन चाहने सबैलाई यो सुविधा उपलब्ध हुने छ ।

“श्रम गन्तव्य देशमा वैध भएर काम गरिरहेको अवस्थामा हामीले आफ्नो नागरिकलाई अवैध भनेर श्रम स्वीकृति रोक्नु गलत हुन्छ,” मन्त्री भण्डारीले भन्नुभयो, “पुनः श्रम स्वीकृति दिन समस्या नभए पनि भ्रमण भिसामा गएकालाई नयाँ श्रम स्वीकृति दिँदा बायोमेट्रिक गर्ने व्यवस्था मिलाउँदै छौँ ।” 

मन्त्रालयका अनुसार निर्णय कार्यान्वयनमा लैजान तीन महिनापहिले नै दूतावासमा पत्राचार गरिएको छ । दूतावासमा बायोमेट्रिक उपकरण नहुँदासम्म एक पटकलाई राहदानी लिँदाको बायोमेट्रिकलाई आधार मान्ने गरी पनि छलफल भइरहेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । हाल नियोगका लागि बायोमेट्रिक उपकरण खरिद गर्न स्रोतको खोजी भएको मन्त्रालयले जनाएको छ । 

वैदेशिक रोजगारीका लागि ११० वटा देश खुला गरिए पनि घरेलु श्रममा महिलाका लागि कतार, साउदी अरेबिया, युएई, ओमान र कुवेत मुख्य गन्तव्य रहँदै आएका छन् । नौ वर्षदेखि महिलालाई घरेलु श्रमिकका रूपमा यी मुलुकमा जान रोक लगाइएको छ । यी देश जानेमध्ये पनि घरेलु श्रममा जानेको सङ्ख्या बढी छ । सरकारले रोक लगाए पनि अवैध बाटोबाट र विभिन्न बहानामा स्वदेशकै विमानस्थल प्रयोग गरेर जानेको सङ्ख्या ठुलो छ ।

२०७३ चैत २० गते तत्कालीन संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु श्रमिकका रूपमा विदेश जाने नेपाली महिला शोषणमा परेको भन्दै सुरक्षा तथा अन्य सुविधाका सर्त सम्झौता नभएसम्म ती देशमा पठाउन थप रोक लगाउन निर्देशन दिएको थियो । त्यसयता खाडी र मलेसियामा घरेलु श्रमिकका लागि श्रम स्वीकृति लिएर विदेश जान पाएका छैन । 

श्रम गन्तव्य देश कतार, साउदी अरब, युएईले पछिल्लो पटक नेपालबाट घरेलु श्रमिक पठाउने बोटा खुला गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । कतारले भने नवीकरणको पहिलो सर्तमै घरेलु श्रमिक पठाउने बाटो खुला गर्नुपर्ने माग गर्दै आएको छ । नेपाल सरकारले भने घरेलु श्रममा महिला बढी जाने भन्दै महिलाको सुरक्षाको विषयलाई संवेदनशील मान्दै आएको छ ।  

सरकारले घरेलु श्रमिकमा पठाउँदा सेवा सुविधा, साप्ताहिक बिदा, परिवारसँग सम्पर्क, सिपलगायतका विषयमा श्रम गन्तव्य देशसँग सम्झौता नभएसम्म नपठाउने अडान राख्दै आएको छ ।