• ७ पुस २०८१, आइतबार

छोरीले गरिन् काजकिरिया

blog

आमाको किरियामा बस्नु भएकी तारा कुवँर । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर २८ गते। छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै तनहुँकी एक महिला आमाको किरिया बस्नु भएको छ। शुक्लागण्डकी नगरपालिका–१ काठिपिपलकी तारा कुवँर हुनुहुन्छ। आमा रुपन कुँवरको  निधन भएपछि उहाँ किरिया बस्नु भएको हो। कुवँरले भन्नुभयो, “आमालाई दागबत्ती दिनको साथै किरिया बस्न पाउँदा छोराको भूमिका निर्वाह गरेको छु।”

परिवारमा दाजुभाइ नभएकाले छोरा र छोरी समान हुन् भन्ने सन्देश दिन किरिया बसेको  कुँवरले बताउनुभयो। आमाको इच्छा छोरीले किरिया गरोस् भन्ने रहेकोले बचन पुरा गरेको कुँवरले बताउनुभयो। 

कुँवरलाई स्थानीय पण्डित कालिदाश पौडेलको समेत साथ रहेको छ। क्रियाथलोमा नै भेटिएका पण्डित पौडेलले छोरीसमेत आफ्नै सन्तान भएको हुदाँ कर्मकाण्डमा सहभागी हुन मिल्ने बताउनुभयो। 

सामाजिक रुपमा रहेको कुसंस्कारलाई हिम्मतले मात्र परिवर्तन गर्न सकिने हुँदा यस्ता कदममा समाज र शिक्षित समुदायले साथ दिन जरुरी रहेको बताउनुभयो। कुँवरको आमा गत मङ्सिर २० गते निधन भएको थियो। आमाको निधन भएपछि वैदेशिक रोजगारीमा रहनु भएको कुँवर आफ्नो कर्तव्य पुरा गर्न फर्किनु भएको थियो।