• ४ जेठ २०८१, शुक्रबार

कलाकारको नेता बन्ने चाह

blog

काठमाडौँ, जेठ ६ गते  । स्थानीय चुनावको रौनकले सबैलाई छोएको छ । कलाकारिता क्षेत्रबाट पनि चुनावमा उठेकाहरूको अग्रता र जित हासिल गरिरहेका छन् । पार्टी प्रवेशदेखि चुनाव प्रचारप्रसारमा कलाकार अगाडि नै थिए । सफल चलचित्र चपली हाइटमा नायकका रूपमा अभिनय गर्नुभएको राज घिमिरे (सानुराजा घिमिरे) स्थानीय चुनावबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–३ बाट उहाँले नेकपा माओवादीका तर्फबाट वडाध्यक्ष जित्नुभएको हो । घिमिरेको पृष्ठभूमि मोडलिङ भए पनि पछिल्लो केही वर्षयता गोदावरी क्षेत्रमा सामाजिक काममा सक्रिय रहँदै आउनुभएको थियो । वडाध्यक्षमा विजयी भएका घिमिरेले अध्यक्षको हैसियतले पाउने कुनै पनि सरकारी सुविधा नलिने घोषणा गर्नुभएको छ । 

‘डिट्ठा साब’ किशोर भण्डारीले स्थानीय चुनावमा वडा सदस्यमा जित हासिल गर्नुभएको छ । उहाँले तारकेश्वर नगरपालिकाको वडा नं. २ बाट सदस्यका उम्मेदवारमा विजय हुनुभएको हो । नेपाली काँग्रेस पार्टीबाट सदस्यका प्रत्याशीमा उठ्नुभएको भण्डारीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै व्यक्तित्व विकास गर्ने आफ्नो एजेन्डा रहेको बताउनुभयो । “मैले खासै वडामा बसेर काम गर्नुपर्दैन, त्यसैले म कला क्षेत्रमा पनि सक्रिय नै हुन्छु,” भण्डारीले भन्नुभयो, “मलाई समाजिक कार्यमा निकै रुचि छ ।

अहिले जनताको सेवा गर्ने अवसर पाएको छु । त्यसका लागि निकै आभारी छु । हप्ताको दुई दिन म कला क्षेत्रमै समय दिन्छु ।” भण्डारी कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृङ्खला ‘डिट्ठा साब’मा ‘डिट्ठा साब’को भूमिका निर्वाह गर्दै आउनुभएको छ भने हास्य टेलिशृङ्खला ‘हर्के हल्दार’मा समेत अभिनय गरिरहनुभएको छ । 

कलाकारिता क्षेत्रबाटै काठमाडौँको प्रमुखको पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह पनि अग्रस्थान रहेका छन् भने नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको उपमेयरको उम्मेदवार सुनीता डङ्गोल पनि हालसम्मको परिणामअनुसार अग्रस्थानमा रहनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कलाकार मदनदास श्रेष्ठ पनि काठमाडौँको प्रमुख पदमा उठ्नुभएको छ । स्थानीय तहको चुनावअघि मुलुकको प्रमुख राजनीतिक पार्टीहरूमा कलाकर्मी प्रवेशको लहर नै चलेको थियो । जसमा कलाकार भुवन केसी, अभिनेत्री श्वेता खड्का तथा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्कालगायत थुप्रै कलाकर्मीले पार्टी प्रवेश गर्नुभएको थियो भने कतिपय कलकर्मी स्वतन्त्र रूपमा नै स्थानीय चुनावमा होमिनुभएको थियो ।