• ७ जेठ २०८१, सोमबार

रुपन्देहीको सियारी गाउँपालिकामा कांग्रेस विजयी

blog

रुपन्देहीको सियारी गाउँपालिकामा निर्वाचित अध्यक्ष थानेश्वर घिमिरे र उपाध्यक्ष तारा थारु । तस्विरः कपिल ज्ञवाली

सिद्धार्थनगर,जेठ ६ गते । रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार अयोध्या थारुले सात हजार २६८ मत ल्याए पराजित हुनुभयो ।

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार तारा थारु आठ हजार ९ सय ९० मतसहित विजयी हुनुभएको छ । भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अमृता गुरुङले सात हजार २६९ मत ल्याउनुभयो ।

त्यस्तै सियारी गाउँपालिका वडा नम्बर १ मा राप्रपाका अरुणकुमार शाही, वडा नम्बर २ मा एमालेका जनार्दन यादव, ३ मा कांग्रेसका रामचन्द्र कुर्मी विजयी भएका छन् । वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव, ५ मा कांग्रेसकै धनपति खरेल, ६ मा एमालेका शेरबहादुर गुरुङ, ७ मा कांग्रेसका दीपकबहादुर शाही विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

१६ पालिका रहेको रुपन्देहीमा सिद्धार्थनगरपालिका, कञ्चन गांउपालिका, शुद्धोधन गांउपालिका, सियारी गांउपालिका र मायादेवी गांउपालिकामा कांग्रेस विजयी भएको छ भने देवदह नगरपालिका र ओमसतियामा एमालेले जितेको छ । त्यस्तै रोहिणीमा जसपाले जितेको छ भने अन्य पालिकाको मतगणना जारी छ । भोलि सम्ममा रुपन्देहीको सबै पालिकाको अन्तिम मतपरिणाम आउने अनुमान गरिएको छ ।

Author

कपिल ज्ञवाली