• ७ जेठ २०८१, सोमबार

स्थानीय तह निर्वाचन

शपथ लिँदै निर्वाचित जनप्रतिनिधि

blog

नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिँदै ।तस्बिर : नारद कोहार

लुम्बिनी, जेठ ६ गते । लुम्बिनी प्रदेशको गत शुक्रबार सम्पन्न स्थानीय तहको मत परिणाम सबै स्थानको आइपुगेको छैन । बिहीबारसम्म परिणाम आइसकेका कतिपय स्थानमा स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्षले शपथग्रहण लिन थालेका छन् । 

तानसेन समाचारदाता अनुसार त्यहाँका नौ पालिकामा निर्वाचित स्थानीय तहका प्रमुख तथा अध्यक्षले शपथ लिएका छन् । पाल्पाबाट निर्वाचित जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । जिल्लाको रम्भा गाउँपालिकामा मतगणनामा विवाद हुँदा त्यहाँको नतिजा आउन सकेको छैन । अन्य पालिकाका प्रमुख तथा अध्यक्षले भने बिहीबार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

शपथग्रहण कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीको सहभागिता रहेको थियो ।


     निर्वाचित भएपछि शपथग्रहण कार्यक्रममा सहभागी पालिका प्रमुख तथा अध्यक्ष । तस्बिर : रेखीराम राना

शपथग्रहण समारोहमा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई सहभागी हुनुभएको थियो । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पनि बिहीबार नै शपथ लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पालिका प्रमुख र अध्यक्षले शपथ लिएपछि पालिकाका उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई शपथ गराउने व्यवस्था छ । शुक्रबारदेखि नवनिर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हाल्नुहुनेछ । शपथग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत केसीले जनताको चाहना र भावनालाई शिरोपर गर्दै काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । 

तौलिहवा समाचारदाताका अनुसार कपिलवस्तु नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको छ । नवनिर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गरेको हो । १२ वटा वडा रहेको कपिलवस्तुमा ६२ जना पदाधिकारी निर्वाचित भएका छन् ।

नगरप्रमुख सुदीप पौडल र नगर उपप्रमुख सुनिता गुप्तासहित १२ वडाध्यक्ष, ४८ सदस्यलाई मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा मुख्य निर्वाचन अधिकृत शर्मा, प्रजिअ धर्मेन्द्रकुमार मिश्र, जिल्ला सुरक्षा निकायका प्रमुखले नवनिर्वाचित पदाधिकारीलाई अबिर र माला लगाई सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत शर्माले प्रमुख पौडेललाई शपथ खुवाउनुभएको थियो । सो अवसरमा मुख्य अधिकृत शर्माले नवनिर्वाचित पदाधिकारीले कपिलवस्तु नगरपालिकाको समग्र विकास र पारदर्शिता सुशासन कायम भूमिका खेल्ने भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा नवनिर्वाचित प्रमुख पौडेलले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै कपिलवस्तु नगरपालिकालाई नमुना नगरपालिका बनाउन आफूले सक्दो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नगरपालिकामा ४७ हजार ८० मतमध्ये ७५ दशमलव ६५ प्रतशित मत खसेको थियो । जसमध्ये १ दशमलव ९३ प्रतिशत मत बदर भएको थियो भने ६८६ मत भने पूर्ण बदर भएको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले बताउनुभयो ।


Author

लुम्बिनी प्रदेश ब्युरो