• ६ वैशाख २०८१, बिहिबार

नयाँ दललाई फापेको निर्वाचन

blog

कैलालीको घोडाघोडी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नेकपा (एकीकृत समाजवादी)का खड्क रावत र उपप्रमुख नेपाली काँगे्रसकी गुलियाकुमारी चौधरी । तस्बिर : रासस

काठमाडौँ, जेठ ६ गते । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ ।

 नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अलग भई पार्टी गठनको आठ महिनामा नै नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेपाल सुशासन पार्टीलगायतले जनताको सम्मानजनक मत पाएका छन् । निर्वाचनको सधैँ विरोध गर्दै आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी समेतले पहिलो पटक निर्वाचनमा सहभागी भएर केही वडामा जितेको छ । सत्तारूढ पाँच दलीय गठबन्धनको साझेदार एकीकृत समाजवादीले मतगणना सम्पन्न भएका स्थानीय तहमध्ये १३ स्थानीय तहको प्रमुख र १७ उपप्रमुख पदमा जित हासिल गरिसकेको छ । जसमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका, पर्साको बहुदरमाई नगरपालिका, धनुषाको शहीदनगर नगरपालिका तथा जनक नन्दिनी र मुखियापट्टी मुसहरनिया गाउँपालिका छन्। 

यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिका, महोत्तरीको पिपरा तथा एकडारा गाउँपालिका, सुनसरीको देवानगञ्ज गाउँपालिका, ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका, बाराको करैयामाई गाउँपालिका र सर्लाहीको बसबरिया गाउँपालिकामा प्रमुख पद एकीकृत समाजवादीले जितेको छ । यसैगरी पर्साको थोवनी र कालिका गाउँपालिका, सप्तरीको विष्णुपुर गाउँपालिका, सिरहाको नवराजपुर र अर्नमा गाउँपालिका प्रमुखमा पनि जित हासिल गरेको छ । 

मतगणना जारी रहेकामध्ये पोखरा महानगरपालिकासहित छ स्थानीय तहमा एकीकृत समाजवादीले अग्रता कायम गरिरहेको छ । मतगणना सम्पन्न भएका १७ स्थानीय तहको उपप्रमुखमा समेत एकीकृत समाजवादीले जित हासिल गरेको छ । २०७८ भदौ २ गते नेकपा (एमाले)बाट अलग भएको एकीकृत समाजवादीले सबै स्थानीय तहमा आफ्नो सङ्गठन विस्तार गरिसकेको छैन । सङ्गठनात्मक रूपमा कमजोर र नयाँ पार्टी भए पनि एकीकृत समाजवादी स्थानीय तहमा पाँचौँ शक्ति बन्ने निश्चित जस्तै छ । यस आधारमा एकीकृत समाजवादीले देशव्यापी नै जनअनुमोदन प्राप्त गरेको छ। 

पाँच दलीय गठबन्धनसहित स्थानीय निर्वाचनमा होमिएको एकीकृत समाजवादी कतिपय स्थानीय तहमा पार्टीको प्रभाव न्यून रहे पनि नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँगको तालमेलमा चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल भएको हो । 

राजनीतिक विश्लेषक मुमाराम खनाल सङ्गठन सुदृढीकरण गरिनसकेको एकीकृत समाजवादीले स्थानीय तहमा आफ्नो सम्मानजनक उपस्थिति देखाएको बताउनुभयो । नेकपा एमालेबाट अलग भएको समाजवादी पार्टीको आफ्नै प्रभाव कमजोर देखिएको भए पनि पाँच दलीय गठबन्धनका कारण महत्त्वपूर्ण स्थानीय तहमा विजय हासिल गरेको उहाँले बताउनुभयो ।

गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सत्ता साझेदार दल विगतमा मुलुकको चौथो राजनीतिक शक्तिका रूपमा स्थापित जनता समाजवादीलाई पछ्याइरहेको छ । जनता समाजवादीबाट अलग भएको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि हालसम्म चारवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा जित हासिल गरेको छ । जसमा महोत्तरीको मटिहानी नगरपालिका, बाराको विश्रामपुर गाउँपालिका, सप्तरीको महादेवा गाउँपालिका, पर्साको बिन्दवासिनी गाउँपालिका रहेका छन् । यो दलले ११ प्रमुख/अध्यक्ष र छ उपप्रमुख/उपाध्यक्ष पदमा अग्रता लिइरहेको छ।  

निर्वाचनको पछिल्लो परिणाममा केही नयाँ दलले पनि स्थानीय तहमा आफ्नो जित सुनिश्चित गरेका छन् । टीकापुर हत्याकाण्डको आरोपमा जेलमा रहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक जनमुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिका, भजनी र जानकी गाउँपालिका तथा जोशीपुर गाउँपालिकामा जित हासिल गरेको छ । 

यसैगरी डा. सिके राउत नेतृत्वको जनमत पार्टीले समेत पहिलो पटक स्थानीय तहमा आफूलाई स्थापित गर्न सफल भएको छ । जनमत पार्टीले हनुमाननगर कङ्कालिनी नगरपालिका तथा सप्तरीको बलान विहुल गाउँपालिकामा प्रमुख तथा उपप्रमुख पदमा जित हासिल गरेको छ ।

अघिल्लो स्थानीय तहमा काठमाडौँ उपत्यकामा पराजित विवेकशील पार्टीले यस पटक बाराको फेटा गाउँपालिका जित हासिल गरेको छ ।