नेपालगन्ज समाचारदाता
नेपालगन्ज, मङ्सिर २० गते । बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले वडा नम्बर १४ को कार्यालयमा पुगेर समलिङ्गी विवाह दर्ता गराउनुभएको हो ।
कोहलपुर नगरपालिका–१४ का वडाध्यक्ष नमबहादुर आलेमगरले वडा कार्यालयले नगरभित्रै पहिलो पटक समलिङ्गी विवाह दर्ता गरेको बताउनुभयो । विवाह गर्ने जोडीको परिवारसँग समेत कुराकानी गरेर दुवैको राजीखुसीमा विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो ।
वडा कार्यालयले विवाह दर्ता गरेपछि खुसी हुँदै सञ्जु र रिचा दुवै जनाले नगरपालिकालाई धन्यवाद दिनुभएको छ । समलिङ्गी विवाह दर्ता गर्न राष्ट्रिय परिपत्र तथा पञ्जीकरण विभागले गत वैशाख १२ गते सबै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो । वडा सचिव हरिकृष्ण चौधरीले विभागको परिपत्र अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको प्रमाणपत्र दिइएको जानकारी दिनुभयो । वडा सचिव चौधरीले कोहलपुरमा समलिङ्गी विवाह दर्ता भने पहिलो पटक गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै विवाह दर्ता गराएँ, समलिङ्गी विवाह दर्ता गरेको भने यो नै पहिलो पटक हो । नयाँ सिकाइ भयो ।” विवाह दर्ता गराउन मायाको पहिचान नेपालले अगुवाइ गरेको जनाएको छ । मायाको पहिचान नेपालको पहलमा उहाँहरूको विवाह दर्ता हुन सफल भएको सो संस्थाका सचिव सुरेन्द्र पाण्डेले बताउनुभयो ।