• ११ पुस २०८१, बिहिबार

संविधानमा सबै धर्मावलम्बीको अधिकार सुनिश्चित छ : मुख्यमन्त्री

blog

मकवानपुर समाचारदाता

हेटौँडा, मङ्सिर २० गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले नेपालको संविधानले सबै धर्मावलम्बीको अधिकार सुनिश्चित गरेको बताउनुभएको छ ।

राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपाल जिल्ला समिति मकवानपुरको आयोजनामा मङ्गलबार हेटौँडामा आयोजित ख्रिस्टमस उत्सव २०८१ तथा नव वर्ष सन् २०२५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सबै धर्म र पर्व मान्न पाउने गरी संविधानमा अधिकारको व्यवस्था भएको बताउनुभएको हो ।

उहाँले सबैले आफ्नो धर्म र संस्कृति मान्न पाउने र त्यो अनुसारको पर्व मनाउन पाउने अधिकार संविधानले सुनिश्चित गरेको बताउनुभयो ।

संविधान बनाउने समयमा आफू पनि संविधान सभामा रहेको स्मरण गर्दै उहाँले लोकतन्त्र प्राप्तिपछि हामीले धर्म निरपेक्षतासहितको संविधान बनाएको बताउनुभयो । “तीन तहको सरकार छ, तीनै तहको सरकारले कुनै पनि धर्मलाई विभेद गर्न पाइने छैन र हामी सबैले विभेद त्यागेर अगाडि बढनु पर्छ,” उहाँले भन्नुभयो, “यो मान्यताको परिपालना नेपाली कांग्रेसले पनि गरेको छ, बागमती प्रदेश सरकारले पनि गरेको र अन्य पार्टीले पनि गरेका छन् ।”

मुख्यमन्त्री लामाले अगाडि भन्नुभयो, “यो सवाललाई कोही कसैले स्वीकार नगरेका होलान् तर संविधानमा लेखिसकेको छ र अधिकारका रूपमा प्राप्त भइसकेको छ ।” 

उहाँले पञ्चायत कालमा धर्म प्रचार गर्न नपाउने, एकल धर्म मात्र थियो र गिरफ्तारसमेत गरिन्थ्यो भन्दै विभेद र छुवाछुत कम हुँदै गएको र मनमा करुणा भाव भयो भने धेरै कुरा मिल्ने धारणा राख्नुभयो । 

राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपाल जिल्ला समिति मकवानपुरका अध्यक्ष नवराज घलानको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, मोम लामा, रामकृष्ण पन्त, मानबहादुर थिङलगायतले कुनै पनि धर्म र सम्प्रदायमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको थियो ।