नारद कोहार
तौलिहवा (कपिलवस्तु), मङ्सिर १९ गते। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले रोजगारीका थुप्रै अवसर प्राप्त हुने बताउनुभएको छ। कपिलवस्तुको जीतपुरस्थित बुद्ध रङ्गशालामा आयोजना गरिएको १५ औँ कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
मन्त्री पाण्डेले निजी क्षेत्रको सहयोग बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘निजी क्षेत्रअघि सरकार पछिपछि भयो भने मात्रै पर्यटन क्षेत्र अघि बढ्छ।’ विविधता पूर्ण संस्कृति र प्राकृतिकलाई चलायमान बनाउनका लागि पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउनुभयो।
पर्यटन क्षेत्रको विकासले रोजगारीका थुप्रै अवसर प्राप्त गर्नुका साथै राष्ट्रको अर्थतन्त्रमा समेत टेवा पुग्ने उहाँको भनाइ छ। निजी क्षेत्रको विकासका लागि तिनै तहका सरकारलाई समन्वयात्मक रूपमा अगाडि बढाउनुपर्ने मन्त्री पाण्डेले बताउनुभयो।
मुलुकमा रहेका संस्कृतिलाई प्रवर्द्धन र संरक्षण गर्नुका साथै प्रकाशमा ल्याउने उत्तिकै जरुरी रहेको उहाँले बताउनुभयो। उहाँले देशमा रहेका राजनीतिक शक्ति एकता देखाए भने मात्र देशले गति लिनसक्ने बताउनुभयो।
प्रदेश सभा सदस्य विष्णु पन्थीले लुम्बिनीसँगै कपिलवस्तुको विकास हुनुपर्ने बताउनुभयो। उहाँले कपिलवस्तु ऐतिहासिक पुरातात्त्विक सम्पदाले भरिपूर्ण भएको बताउनुभयो।