निशा राई
धरान, मङ्सिर १९ गते । धरानबाट लागु औषध गाजा ७ सय केजीसहित २ वटा सरकारी गाडी र एक जना पुरुष पक्राउ परेका छन् ।
मंगलबार साँझ धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ नम्बरको सरकारी नम्बर प्लेट भएको स्कारपिओ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कारपिओबाट गाँजा बरामद भएको बुधबार पत्रकार सम्मेलनमा सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताउनुभयो । धरान–१३ अमरहाटबाट गाँजा बरामद गरिएको उहाँले बताउनुभयो ।
चार राउन्ड हवाई फायर गरेर उक्त गाजा र गाडी नियन्त्रणमा लिइएको सुनसरी प्रहरी प्रमुख तिम्सिनाले बताउनुभयो । घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का २६ वर्षीय श्यामकुमार विश्वकर्मा रहेको छ भने अर्को गाडीका सवारी चालक तत्काल फरार रहेको उहाँले बताउनुभयो ।
"अर्को गाडीलाई रोक्ने क्रममा हामीलाई नै पेल्ने अवस्थामा आएपछि गोली चलाउन बाध्य भएका हौँ, इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जुवेगुले भन्नुभयो, "गोली चलाएपछि अलिक तलतिर गएर गाडी छाडेर फरार भएको अवस्था छ हामीले खोजी गरिरहेका छौँ ।"
बा १ झ ५१२७ नम्बरको गाडी चालक तत्काल फरार रहेको प्रहरीले जनाएको छ । उक्त गाडी नियन्त्रणमा लिनका लागि प्रहरीले निकै चुनौती व्यहोर्नुपरेको जबेगुले बताउनुभयो । प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिनका लागि इन्सास राईफलबाट ४ राउन्ड फायर गरेको थियो । "जसमध्ये एक राउन्ड गोली उक्त गाडीको पछाडि रहेको सिसाभन्दा माथिल्लो भागमा लागेको र अर्को गाडीलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो," सुनसरी प्रहरी प्रमुख तिम्सिनाले भन्नुभयो ।
फरार रहेका गाडी चालकलाई नियन्त्रणमा लिनका निम्ति प्रहरीले सबैतिरका नाकामा निगरानी बढाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा १ झ ५१२७ नम्बरको गाडीमा प्लाष्टिकमा भएको ३६५ केजी गाजा र प्लास्टिकबाहेक जम्मा ३६० केजी र बा १ झ ४६०५ नम्बरको गाडीमा भएको गाजा प्लास्टिकसहित ३३५ केजी र प्लास्टिकबाहेक जम्मा ३३० केजी गरी प्लास्टिकसहित जम्मा तौल ७ सय केजी गाँजा बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका विश्वकर्मालाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थपको तयारी भइरहेको प्रहरी नायब उपरीक्षक जबेगुले बताउनुभयो । बरामद भएका गाडीहरू सरकारी गाडीहरू हुन् कि होइनन् भन्नेबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरी प्रमुख तिम्सिनाले बताउनुभयो फेक सरकारी नम्बर प्लेट बनाएर प्रयोग गरिएको हो कि भन्नेबारे पनि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।