• २० मंसिर २०८१, बिहिबार

रामपुरमा जनप्रतिनिधिसँग संवाद सुरु

blog

इमान सिं राना

रामपुर (पाल्पा), मङ्सिर १९ गते । पाल्पाको रामपुर नगरपालिकाले जनप्रतिनिधिसँग संवाद कार्यक्रम सुरु गरेको छ । जनताको गुनासो सुन्न, स्थानीयस्तरमा रहेका समस्याको पहिचान गर्न तथा आगामी नीति तथा कार्यक्रमको लागि सुझाव सङ्कलन गर्न प्रतिनिधिसँग संवाद सुरु गरेको हो ।

नगर प्रमुख, उपप्रमुख, १० वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरूको अनिवार्य उपस्थिति रहने गरी वडा तहमा पुगेर विद्यालयका प्रधानाध्यापक, टोल विकास संस्था, समूह लगायत वडाका सरोकारवालाको सहभागितामा कार्यक्रमको थालनी गरेको हो । कार्यक्रमको वडा नं १ टापुधाम बाट थालनी गरेको हो । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले जनताको आवश्यकता र वडाको वस्तुस्थितिलाई अझ नजिकबाट नियालेर आगामी योजना सञ्चालनका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यका साथ कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

टापुधाममा भएको कार्यक्रममा सरोकारवालाले उठाएका जिज्ञासा मेटाउँदै थापाले नगरले प्राथमिकता, आवश्यकताको आधारमा योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । जनताको सुविधाका लागि सीमित स्रोत र साधनका बिच स्थानीय सरकार प्रतिबद्ध भएर लागेको उल्लेख गर्नुभयो । 

प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी र जनमुखी बनाउनका लागि सबै वडामा जनप्रतिनिधिसँग संवाद कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । नगर प्रवक्ता एवं वडा नं १ का अध्यक्ष कपिलबहादुर खाँणले वडाको विकास निर्माणको अवस्था, समस्याको पहिचान र सुझाव सङ्कलन गरी आगामी वर्ष थप योजना बनाउन सघाउ पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको अवधारणा तयार पारिएको बताउनुभयो ।

टापुधाममा भएको कार्यक्रममा सहभागीले योजना सम्झौता, टोल विकास संस्था दर्ता, सञ्चालनका लागि आवश्यक बजेट माग, विद्यालयका शिक्षक दरबन्दी, भौतिक संरचनाको मर्मत सम्भार, कालीगण्डकी कोरिडोर सडक सुरक्षा, आपराधिक क्रियाकलाप नियन्त्रणका लागि पहल गर्न, सवारी साधन भाडादर कार्यान्वयनका लागि कडाइ गर्नुपर्ने, विकास निर्माणका योजना सञ्चालन गर्दा जोखिमको मूल्याङ्कन गरेर सञ्चालन गर्नुपर्ने लगायतका सुझाव राखेका थिए ।

कार्यक्रमको अवसरमा विपदमा परेका नागरिकलाई नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । वर्षाद्ले घर भत्किएका, उपचारका लागि आर्थिक अभाव भएका र बिरामी गरी तीन जनालाई राहतस्वरुप ४७ हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।