• ११ पुस २०८१, बिहिबार

क्रिकेट ‘क्रेज’ मा एनपिएल

blog

खेलकुद क्षेत्र देशकै गौरव हो । खेलबाटै कतिपय मुलुकले विश्वभर आफूलाई चिनाएका छन् । खेल विशेषमा अग्रतासँगै कतिपय खेलाडीले आफूसँगै देशका नाम चम्काएका छन् । बाज्रिलले फुटबलमा साम्राज्य नै कायम गर्‍यो । बाज्रिललाई फुटबलको उचाइमा पुर्‍याउने पेलेको नाम संसारभर कहलियो । विश्वका धेरै मुलुकले खेलबाटै अर्थतन्त्र उचाइमा पुर्‍याए, पुर्‍याउँदै छन् । खेल लगानीको क्षेत्र बन्यो भने यसले व्यापक रोजगारीसमेत सिर्जना गरेको पाइन्छ । खेलबाटै कतिपय सामान्य युवा सम्पन्न मात्र भएका छैनन्, अर्थतन्त्रलाई योगदान पुर्‍याउन सफल छन् । नेपालले लामै समय खेलमा चाहेको क्रियाशीलता दिन नसकिरहेका बेला क्रिकेटप्रति बढ्दो लगावले ठुला उत्साह भरेको छ । यताका वर्षहरूमा क्रिकेटप्रति नयाँ पुस्ताको रुचिसँगै पुरुष तथा महिला दुवैले राम्रो नाम कमाउँदै छन् । देशकै गौरव बढाउँदै छन् । त्यस क्रममा देशभित्रै आरम्भ भएको नेपाल प्रिमियर लिग (एनपिएल) ले यतिबेला सर्वत्र खुसी ल्याएको छ ।

छिमेकी मुलुक भारतले सन् २००७ मा इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु गरेपछि त्यसले बहुआयामिक प्रभाव पा¥यो । त्यसको सिको सबैतिर हुन थाल्यो । अस्ट्रेलियामा बिग ब्यास, वेस्ट इन्डिजमा क्यारेबियन लिग, इङ्गल्यान्डमा दी हन्ड्रेड, दक्षिण अफ्रिकामा रामस्लाम टी–ट्वान्टी च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्का प्रिमियर लिग हुँदै आए । लिग खेलप्रति व्यापक लगाव मात्र बढेको छैन, ती देशको खेलस्तर माथि उकासिएको छ भने अर्थतन्त्र उकास्न पनि ठुलो सहयोग पुगेको छ । त्यही क्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा एनपिएलको सुरुवात नयाँ महापर्व हो । पहिलो संस्करण शनिबार सुरु भएसँगैको उत्साह व्यापक छ । लिगका सबै टिकट दर्शकका निम्ति छोप पनि भएनन् । समयमै बिक्री भए । यसले नेपालमा पनि खेल क्षेत्र अर्थतन्त्रको आधार बन्न सक्ने देखिएको छ ।

यो लिग प्रतियोगिता सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै पुस ६ गते च्याम्पियनको छिनोफानो हुने छ । पहिलो चोटि भए पनि एनपिएलले विश्वव्यापी चर्चा पाएको छ । आइपिएलले व्यापक चर्चा पाएपछि विश्वका धेरै देशमा क्रिकेट लिग प्रसार भयो । यो विश्वव्यापी अवधारणाबाटै प्रभावित भएर एनपिएल भव्य बनाउन क्यानले असाध्य धेरै मेहनत गरेको छ । धेरै धनराशि खर्च गरेर विश्वस्तरीय विदेशी क्रिकेटरको राम्रै सङ्ख्या नेपाल ल्याएको छ । स्टार स्पोर्ट्स जस्तो सुप्रसिद्ध च्यानलले प्रत्यक्ष प्रसारण गरेको यो प्रतियोगिताले नेपालको नाम विश्वभर फैलिएको छ । यही अवसरमा नेपालको खेल पूर्वाधारसमेत विस्तार भएको छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति यही अवसरमा भयो । नेपालीको मनमनमा क्रिकेटको ‘क्रेज’ मा यही एनपिएलबाट अझ बढोत्तरी आउनु सुखद भविष्यको सङ्केत हो ।

कुनै बेला क्रिकेटका हस्ती तथा हाल क्यानका सचिव पारस खड्का लिग सफल बनाउन सबैको योगदान अतुलनीय रहेको बताउनुहुन्छ । उहाँका अनुसार एनपिएलको घोषणा गर्दा यति बृहत् रूपमा हुन्छ भन्ने अपेक्षा थिएन । ‘क्यान यी सब नेपाली क्रिकेटको विकास र क्रिकेटरहरूको उज्ज्वल भविष्यका लागि गरिरहेको छ । यसको प्रमुख उद्देश्य घरेलु क्रिकेटरलाई स्टार विदेशी खेलाडीसहितको ठुलो प्रतियोगिताको अनुभव दिलाउने नै हो । हामी नेपाली क्रिकेटरले एनपिएलबाट अन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ पाओस् भन्ने चाहन्छौँ’ पारसको यो भनाइले लिगको भविष्य मात्र होइन, नेपालले भाबी दिनमा विदेशी पिचमा पाउने सफलतालाई समेत सङ्केत गर्छ ।

एनपिएलको आरम्भिक यो संस्करणमा देशभित्रका धेरै टिमले उदाउने मौका पाउने छन् । सुदूरपश्चिम रोयल्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स जोडिएका छन् । यसले देशभित्र क्रिकेटको भौगोलिक विस्तारलाई समेत प्रतिविम्बित गरेको छ । हरेक टोलीमा कम्तीमा चार र बढीमा छ विदेशी खेलाडी आबद्ध गर्न पाउने प्रावधानको उपयोग भएको छ । क्यानका अनुसार १६ देशका ४० विदेशी खेलाडी एनपिएलमा आबद्ध छन् । जसमध्ये भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्टिल, जिमी निसम, स्कट कुगलेन, इङ्गल्यान्डका रवि बोपारा, अस्ट्रेलियाका बेन कटिङ, वेस्ट इन्डिजका चाड्विक वाल्टन चर्चित खेलाडी एनपिएलमा सहभागिता हुँदा नेपाली खेलाडीले खेलस्तर सुधार्नसमेत अवसर पाउने छन् । प्रत्येक खेलाडीले कम्तीमा दुई लाखदेखि २० लाख रुपियाँसम्म पाउने हुँदा खेलाडीको आर्थिक जीवन उज्यालो हुँदै जाने छ । सिद्धार्थ बैङ्कले प्रमुख आयोजकमा लिएको जिम्मेवारी अरू धेरै संस्थाका निम्ति सकारात्मक सन्देश हुने छ ।