गुणबहादुर रोका
सुलीकोट, मङ्सिर १५ गते । गोरखा नगरपालिका गोरखाले मङ्सिर १६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन गण्डकी प्रदेश भरि नै एकमात्र गोरखा नगरपालिका–५ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुन गइरहेकाले सार्वजनिक बिदा दिन लागेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाले मङ्सिर १६ गते वडा आसपासको वडाहरूमा समेत निर्वाचन कार्यक्रमबाट आवतजावतमा कठिनाइ हुने र अन्यत्र कार्यरत रहेका वडा न ५ मा मतदान गर्न योग्य मतदातालाई समेत बिदा आवश्यक भएकाले सार्वजनिक बिदा दिइएको उहाँले बताउनुभयो ।
उक्त दिन नगरपालिका भित्रका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था एवम् अन्य सङ्घ संस्थाहरू बन्द रहने प्रमुख प्रशासकीय अधिकृत खनालले जारी गरेको सूचनामा भनिएको छ ।