• १५ मंसिर २०८१, शनिबार

बेसी झर्न थाले उत्तरी गोरखाका भेडीगोठ

blog

उत्तरी गोरखाका हिमाली क्षेत्रमा रहेका भेडी गोठहरु बेसी झर्दै । तस्विरः गुणबहादुर रोका

गुणबहादुर रोका 

सुलीकोट, मंसिर १५ गते । जाडोयाम सुरु भएसँगै उत्तरी गोरखाका हिमाली क्षेत्रमा रहेका भेडी गोठहरू बेसी झर्न थालेका छन् । चिसो बढेसँगै लेकमा घाँसको अभाव हुँदै जानु र अत्यधिक मात्रामा चिसोले गर्दा पनि हिमाली भेगमा रहेका भेडा च्याङ्ग्रा बेसी झार्न थालिएका हुन् ।  

जेठ महिनादेखि उत्तरी गोरखाको हिमाली भेगमा लगिएको भेडा–च्याङ्ग्रा चाडपर्व सकिएसँगै बिस्तारै बेसी झारिरहेका छन् । यतिबेला बारपाक सुलीकोट गाउँपालिकाभित्र रहेका म्याम्चे, नागपोखरी लगायत क्षेत्रमा भेडाहरूको बथानले घाँसे मैदान भरिभराउ रहेको छ । 

गोरखाका ४ वटा पालिकाहरू चुमनुब्री, धार्चे, बारपाक सुलीकोट र अजिरकोट गाउँपालिकामा किसानले भेडा पाल्दै आएका छन् । गोरखाको उत्तरी क्षेत्रमा बडुवाल र म्याङलुङ र तल्लो क्षेत्रमा काँक्रे जातका भेडा किसानले पाल्दै आएका छन् । 

भेडा किसानले मौसम हेरेर कहिले लेकमा कहिले बेसी झार्ने गरेका छन् । उत्तरी गोरखाका भेडापालक किसानले कम्तीमा २ सयदेखि १ हजार भेडा पाल्ने गरेका पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा. अनन्त कोइरालाले बताउनुभयो । 

अहिले गोरखामा सबैभन्दा ठुलो भेडा फार्म चुमनुब्री गाउँपालिका–३ स्थित पाङसिङमा रहेको भेडा पालक किसान सुरेन्द्र गुरुङले बताउनुभयो । भेडाहरू बेसी झारेसँगै किसानहरूले ऊन काट्ने गर्छन् । एउटा भेडाबाट सातसय ग्रामसम्म ऊन काट्ने गरिएको बारपाक सुलीकोट गाउँपालिका–१ का किसान रणबहादुर घलेको भनाइ छ । 


सो भेडाको ऊनबाट बख्खु, टोपी, सल, कानेटोपी, राडीपाखी, बनाउन प्रयोग गर्ने गरिएको छ । बनाएका सामग्री गाउँघर तथा बिदेशी पर्यटकले लिएर जाने गरेका भेडापालक किसान लालबहादुर गुरुङले बताउनुभयो । 

अहिले कम्तीमा एक फार्म भेडा पालक किसानले बार्षिक भेडा बेचेर न्युनतम १० देखि १५ लाख रुपियाँसम्म कमाउने गरेको बारपाक सुलीकोट गाउँपालिकाका पशु प्राबिधिक बिरबल घलले बताउनुभयो । अहिले बारपाक सुलीकोटमा मात्र २० गोठ भेडाहरु रहेका छन् । यस गाउँपालिका भरिमा झण्डै ५ हजार भेडाहरु रहेका पशु प्राबिधिक घलेले जानकारी दिनुभयो । 

भेडालाई राम्रो मूल्य पाउन कम्तीमा ३ बर्ष पाल्नुपर्ने हुन्छ । भेडा भने गाउँघरमै जति पनि बिक्री हुने गरेकाले भेडापालक किसानले भेडाबाट राम्रो आम्दानी गर्दै आएका भेडापालक किसान रणबहादर घलेले बताउनुभयो ।