• १५ मंसिर २०८१, शनिबार

शिक्षक सङ्घका पूर्व अध्यक्ष ज्ञवालीको निधन

blog

नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष स्वर्गीय मोहनप्रसाद ज्ञवाली ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, मंसिर १५ गते । नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष मोहनप्रसाद ज्ञवालीको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ८ः३० बजे काठमाडौँको धापासीस्थित हरिहर मन्दिरको सिँढीमा लडेर गम्भीर घाइते हुनुभएका ज्ञवालीलाई महाराजगन्ज वृत्तबाट खटिएको प्रहरी र स्थानीयले उद्धार गरी शिक्षण अस्पताल पुर्‍याएका थिए ।

प्रहरी वृत्त महाराजगन्जका प्रमुख रवीन्द्रनाथ पौडेलका अनुसार ज्ञवालीलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका हुन् । ज्ञवालीको शरीरको बाहिरी भागमा खासै ठुलो चोट पटक नदेखिएको र पोस्टमार्टम रिपोर्टपछि मृत्युको थप कारण खुल्ने पनि पौडेलले बताउनुभयो ।

नेपाल शिक्षक सङ्घका पूर्व उपाध्यक्ष प्रेमनारायण भण्डारीका अनुसार ज्ञवाली शुक्रबार नियमितजस्तै सङ्गठनका साथीहरूसँग भेटघाट गरी साँझ  हात्तीगौडास्थित निवासमा फर्किने क्रममा धापासी मन्दिर परिसरमा लड्नुभएको थियो। मृत्युको थप कारण भने खुल्न बाँकी छ । 

पोस्टमार्टमपछि ज्ञवालीको शवलाई श्रद्धाञ्जलीका लागि नेपाली शिक्षक सङ्घको केन्द्रीय कार्यालयमा राखिने भण्डारीले जानकारी दिनुभयो । ज्ञवालीको निधनप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले दुःख व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक आन्दोलनका योद्धा ज्ञवालीको निधनले आफू  मर्माहत रहेको बताउँदै नेपालको शिक्षा क्षेत्रले एक महत्त्वपूर्ण चिन्तक र देशले एक होनहार छोरा  गुमाएको बताउनुभयो ।

वि.सं २०२२ असोज २ गते गुल्मीको छत्रकोट –३ हर्दिनेटामा जन्मिनुभएका ज्ञवाली नेपाल शिक्षक सङ्घको पाँचौँ र छैटौँ महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको एक श्रीमती हुनुहुन्छ ।