• ४ जेठ २०८१, शुक्रबार

नेपाल टी–२० क्रिकेट लिग असोजमा

blog

पत्रकार सम्मेलनमा नेपाल टी–२० क्रिकेट लिगबारे धारणा राख्दै कप्तान सन्दीप लामिछाने । तस्बिर सौजन्य : क्यान

काठमाडौं, जेठ ४ गते । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग आगामी आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म काठमाडौंमा हुने भएको छ । क्यानले बुधबार पत्रकार सम्मेलन गरी महत्वाकांक्षी टी–२० लिगको औपचारिक घोषणा गरेको हो । 

लिग सञ्चालनका लागि क्यानले भारतको ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई जिम्मेवारी समेत दिईसकेको छ । क्यानले ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई आठ बर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको हो । जस वापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले बार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले क्यानको हालै सम्पन्न साधारण सभाले ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई रणनीतिक र कर्मसियल अधिकार मात्र प्रदान गरेको पनि स्पस्ट पार्नुभयो । 

‘नेपाली क्रिकेटको विकासमा लागि यो लिग ठूलो कोशेढुङ्गा हुनेछ । २०७६ सालमा म क्यानको निर्वाचनबाट अध्यक्ष हुँदानै नेपालको आफ्नै खालको अन्तर्राष्ट्रिय लिग गर्ने योजना बनाएको थिए । यसले अहिले मुर्त रुप पाएको छ । अब नेपालमा आधिकारिक टी–२० लिग यो नै हो । अन्य लिगलाई क्यानले मान्यता दिने छैन । निजि क्षेत्रबाट यसअघि हुँदै आएको लिग क्षेत्रीय स्तरमा आयोजना हुनसक्छ,’ चन्दले भन्नुभयो ।

उहाँले यस लिगले क्यान, नेपाली क्रिकेट र खेलाडीको प्रदर्शनसँगै आर्थिक स्तर सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभयो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले यस प्रतियोगिताले नेपाली क्रिकेटको स्तरमा सुधार गर्नुका साथै नेपालमा खेलकुदको माध्यामबाट पर्यटन विकासमा समेत टेवा पुग्ने बताउनुभयो । 

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले घरेलु मैदानमा नेपालको आफ्नै नेपाल टी–२० लिग हुनु खेलाडीका लागि खुशी र गौरवको विषय भएको बताउनुभयो । ‘सेभेन थ्रीस्पोर्ट्स’का प्रवन्ध निर्देशक जतिन अलुवालियाले आफ्नो कम्पनीका बारेमा फैलाईएको अफवाह झुटो भएको बताउनु भयो । ‘हामी नेपाली क्रिकेटसँग सहकार्यको हात बढाउन आएका हौं । लामो सम्झौताले सबै पक्षलाई उत्साहित बनाएको छ,’ जतिनले भन्नुभयो । 

डबल राउन्ड लिगका आधारमा खेलाईले यस प्रतियोगितामा पहिलो बर्ष ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहने क्यानले जनाएको छ । आगामी बर्षदेखि सहभागि टोली बढाईने छ । यस लिगमा ‘ए’ श्रेणीमा रहेका खेलाडीले कम्तीमा १५ लाख, ‘बी’ मा रहनेले १० लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले पाँच लाख रुपियाँ पारिश्रमिक पाउनेछन् ।