काठमाडौँ, मङ्सिर १३ गते । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्ती मगरले भन्नुभयो, “म सभामुख भइसकेपछि पनि मलाई चुनौती नै थियो । बहालवाला मन्त्री, सांसदले नै यो संसद् कस्तो होला ? कसरी चल्छ ? यस्तो पनि निर्णय गर्ने हो राजनीतिक दलहरूले ? भन्थे ।”
मिडिया एडभोकेसी ग्रुप (म्याग) ले ‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ, बोलौँ !’ विषयक आयोजना गरिएको ‘म बोल्छु’ कार्यक्रममा पूर्व सभामुख घर्तीले राख्नुभएको अनुभव हो यो ।
त्यसो त, कार्यक्रममा अरू तीन मुख्य वक्ताहरू नेकपा (एमाले) का स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे, नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादव र अन्तरपुस्ता महिलावादी समूहका संस्थापक रिता थापाले राजनीतिमा महिला हिंसा सम्बन्धमा आफूले गरेको सङ्घर्षसहित समग्र महिला राजनीतिज्ञको चुनौतीबारे चर्चा गर्नुभयो ।
पूर्व सभामुख एवम् नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य ओनसरी घर्ती मगरलाई सानैदेखि लाग्थ्यो, आखिर छोरी मान्छे को हुन् ?
उहाँले भन्नुभयो, “छोरीले के गर्न हुन्छ ? के गर्न हुँदैन ? भनेर खोजी गर्दागर्दै म यहाँसम्म आइपुगेँ । रोल्पा जिल्लामा एउटा सामान्य, भोकै बस्न नपर्ने, नगद कहिल्यै देख्न नपाइने किसान परिवारमा जन्मेको मान्छे । धेरै मिडियालाई भनेको छु, सुन्नुभएकै होला । म भन्नेवाला छु, म लेख्नेवाला पनि छु ।”
आइए पढ्दापढ्दै भूमिगत राजनीतिमा लाग्नुभएका घर्तीले सभामुखको जिम्मेवारीपछि कक्षा ११, १२ को पढाइ पुरा गर्नुभयो र हालै मात्र स्नातक तहको अन्तिम परीक्षा दिनुभएको उहाँले जानकारी दिनुभयो ।
“प्रत्येक नेताको घर जान्थेँ । आजभोलि सुन्नुभएको छ र ? कोही सभामुख कोही नेताको घर गएको ? राजनीतिक दललाई एक नगरीकन बनाइएका कानुन दिगो हुँदैन”, उहाँले भन्नुभयो, “तपाईँहरूलाई थाहा छ, नेपालको पोलिटिक्स कस्तो हुन्छ ? दुई नेताका बिचमा बोलचाल हुन पनि गाह्रो हुने ठाउँमा ६०१ लाई एक ठाउँमा ल्याउनुथियो । रातदिन कहिल्यै पनि मलाई फुर्सद भएन । उहाँहरूका बिचमा समन्वय गरेरै छोडेँ । ११६ वटा कानुनहरू मैले बनाएँ ।”
यस्तै, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे विद्यालय पढ्दै गर्दा नै २०३७ साल चैत १४ गते पहिलो पटक नेपाल बन्द हुँदा आमअड्तालमा सहभागी भएको सम्झनुहुन्छ । आमहड्तालबाट घर फर्कने बित्तिकै छोरी मान्छे भएर सडकमा उफ्रँदै हिँड्ने ? भन्ने प्रश्न उहाँसामु तेर्सियो । उहाँ २०४६ को जनआन्दोलनको समयसम्म अनेरास्ववियुको केन्द्रीय सदस्य बन्नुभयो । २०४८ सालमा अनेमसङ्को केन्द्रीय कोषाध्यक्ष हुनुभयो ।
उहाँले भन्नुभयो, “मलाई त्यतिबेला साथीहरूले तपाइ पोलिटिक्समा आएको मान्छे जागिर खान जाने होइन । किन चाहियो डिग्री ? किन लेख्नुहुन्छ ? भनेर इन्करेजभन्दा डिस्करेज गर्ने खालको कुरा हुन्थ्यो । अनि मैले भन्थे, – हातमा हतियार भयो भने कुनै दिन काम लाग्छ ।”
उहाँले पिएचडीको थेसिस लेख्ने क्रममा महिलाका सम्बन्धमा जुन विषय छान्नुभयो । उहाँको सुपरभाइजरले त्यतिबेलै भनेको थियो कि, ‘यो शीर्षकमा थेसिस लेखिए पार्टीले तँलाई साइड लाउन सक्छ । रिस्क लिने कि नलिने ?’
“मैले ठिक कुरा गर्दाखेरी साइडमा नै उभिनुपर्छ भने म साइडबाट नै बोलिराख्छु । तर, म गर्छु किनभने २००६ सालमा कम्युनिष्ट पार्टी बनेर अहिलेसम्म आउँदा कसरी त्यसको पोलिसी र प्रोग्राम डेभ्लप् भएर आयो”, उहाँले भन्नुभयो, “त्यसको इम्पिलिमेन्टेसनको पार्ट के छ त ? भन्ने कुरा त गर्नैपर्छ । र मेरो त्यही कन्ट्रीब्युसन हो पार्टीमा बसेर ।”
पारिवारिक राजनीतिक पृष्ठभूमि भएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य किरण यादव जब, २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी कोइराला नेपाल फर्कनुभयो त्यो बेलादेखि राजनीतिमा झुकाव बढेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पढाइको पनि चेतना थिएन तराईमा । एउटा गाउँबाट अर्को गाउँमा पढ्न जाने केटी मान्छे चार, पाँच जना मात्रै हुन्थे । आमाबुवाले पढ्न पठाउँदैन थिए किनभने सुरक्षाको दृष्टिकोणले । छोरीहरू पढाइलेखाइ गरे भने बिग्रन्छन् भन्ने सोच्थे ।” उहाँको दश कक्षा पढ्दै गर्दा विवाह भयो । बालबच्चा हुर्काउँदै पछि पढाइ पुरा गरेको उहाँले बताउनुभयो ।
उहाँ २०४५ सालमा नेपाली कांग्रेसको साधारण सदस्यता लिनुभयो, २०६२÷६३ को जनआन्दोलनमा पूर्णकालीन कार्यरत रहनुभयो । जनआन्दोलन अघि नेपाल महिला सङ्घको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । धनुषामा जन्मनुभएका उहाँले विवाहपछि महोत्तरीमा राजनीतिक क्षेत्र बनाउनुभयो ।
२०६४ को संविधान सभामा समानुपातिक सांसद बन्नुभयो ।
“महिलाहरु समानुपातिकबाट मात्रै आउन खोज्छन् भन्ने भाष्य अहिले पनि छ । त्यो भाष्यलाई चिरेर महोत्तरी २ लाई कार्यक्षेत्र बनाएर म काम गर्दैगर्दा २०७० को दोस्रो संविधान सभामा पार्टीले टिकट दियो र म जितेर पनि आएँ ।”
उहाँले हरेक पार्टीमा पढेलेखेका, अनुभवी महिला भएपनि निर्वाचनमा महिलाले टिकट नै नपाउने गरेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “जब टिकट दिने बेला हुन्छ त्यतिखेर कुनै पनि महिला चुनाव लड्न नगएहुन्छ भन्ने सोच्नुहुन्छ हरेक नेताहरु । म समानुपातिक एकचोटी भइसकें, दोहो¥याएर किन समानुपातिकमा आउनु भन्दा हाम्रै पार्टीका लिडरहरुले समानुपातिकमा गए भइगयो नि यतिको महिला किन दुख गर्नु ?”, उहाँ भन्नुहुन्छ, “तिमीहरु, महिलाहरु चुनाव जित्दैनौं, नजाऊँ भन्नुहुन्छ । जबी, हामी आँट गरिराछौं ।”
२०७९ को निर्वाचनमा गठबन्धनका कारण यादवले टिकट पाउनुभएन । “मेरो टिकट गठबन्धनलाई गयो । मैले त्यो पनि सहें । सबैले अनुमान गरेको थियो, स्वतन्त्र चुनाव लड्न जान्छ । म स्वतन्त्र उठेर पनि चुनाव लड्न र जित्न सक्थें । तर, म पार्टीको निर्देशन मानेर बसें ।”
यसैगरी, अन्तरपुस्ता महिलावादी समूहका संस्थापक रीता थापाले कमसेकम संविधानले सुनिश्चित गरेको राज्यमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने बताउनुभयो । वडा अध्यक्ष र पालिका प्रमुखमा महिला नेतृत्वको सङ्ख्या अत्यन्त न्यून रहेको भन्नुहुँदै उहाँले प्राय महिलालाई उपमेयरमा थोपर्ने काम भएको भनाइ राख्नुभयो ।
एकातिर राजनीतिमा महिलालाई यतिका चुनौती त छदै छ, अर्कोतर्फ चुनावका बेला हुने जाँडरक्सी, भोजभतेरमा पुरुषको सहभागीता बढी हुँदा घरेलु हिंसा समेत बढेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “चुनावमा विशेष गरेर पुरुषले जाँडरक्सी, मासुको सेवन गर्ने । यतिबेला घरेलुहिंसा कति बढ्दो रहेछ ।” उहाँले राजनीतिमा महिला अगाडि बढाउन ‘अनुपम अभियान’ सञ्चालन गर्दै आउनुभएको छ ।
म्यागका अध्यक्ष एवम् पत्रकार अनिता बिन्दुले कुनै एक पात्रले मात्र आवाज उठाएर हिंसा न्यूनीकरण हुन नसक्ने बताउनुभयो । कुनै पात्रले हिंसाविरुद्ध बोलेको अवस्थामा सिङ्गो समाजले साथ दिनुपर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले मिडिया क्षेत्रमा कार्यरत महिलाले पनि शारीरिकभन्दा मानसिक हिंसा बेहोर्नुपरेको बताउनुभयो ।
कार्यक्रमलाई म्यागका संस्थापक एवम् कार्यकारी निर्देशक समेत रहनुभएका वरिष्ठ पत्रकार बबिता बस्नेतले सहजीकरण गर्नुभएको थियो ।