काठमाडौँ, मङ्सिर १२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको माध्यामबाट समेत जोड्नु पर्ने बताउनु भएको छ ।
बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तर विषय अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा बोल्दै मन्त्री पाण्डेले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाई सेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने बताउनु भएको हो । यसका लागि मन्त्रालयले समेत तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो ।
मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्ग दर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्त्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिनु भयो। दुई दिनसम्म चल्ने सङ्गोष्ठीमा भगवान् रामका विविध पक्षमा चर्चा गरिने छ । सङ्गोष्ठीमा सामेल हुन आएका विभिन्न देश प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधता पूर्ण संस्कृतिलाई विश्वमा पुराउन सहयोग गर्नसमेत आग्रह गर्नुभयो ।