• १२ मंसिर २०८१, बुधबार

लिम्बू समुदाय चासोक तङ्नामको तयारीमा

blog

धनकुटाको खाल्सा क्षेत्रमा पापानी चाडमा स्थानीय बाजागाजाको तालमा नाचगान गर्दै ।

उर्लाबारी समाचारदाता

उर्लाबारी, मङ्सिर १२ गते । मोरङको उर्लाबारीका लिम्बू समुदाय चासोङ तङ्नामको तयारीमा जुटेका छन् । प्रत्येक वर्षको धान्यपूर्णिका दिन लिम्बू समुदायले न्वागी पर्वका रूपमा चासोक तङ्नाम मनाउने गर्छन् । चासोक पर्वका अवसरमा उर्लाबारी–९ स्थित आम्बारीमा मङ्सिर ३० देखि पुस ४ गतेसम्म पाँचदिने बृहत् सांस्कृतिक कार्यक्रमसहित जातीय महोत्सवको आयोजना गर्न लागिएको  किराँत याक्थुम चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाले जानकारी दिनुभयो । 

खेती प्रणालीको विकासदेखि लिम्बू समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएका छन् । धान पाक्न थालेसँगै थन्क्याउने समयभरि यो चाड मनाइन्छ । चासोक तङ्नामका बेला थान थापेर प्रकृति देवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ । सारमा बाली उब्जाइदिने प्रकृति–जल, जमिन, वायु, अग्नि र सूर्यलाई विशेषले पूजाअर्चना गरिन्छ । लिम्बूहरू चासोक तङ्नामलाई अन्नप्रतिको सम्मान गर्ने पर्वका रूपमा मान्ने गर्छन् । 

लिम्बू जातिले अन्नलाई एक प्रकारले माङ (देवता) नै मान्दै आएका छन् । पैँयु फुल्ने समय माछा, चरा दक्षिणतिर लाग्ने उँधौली याम र सूर्य  दक्षिणायण हुने समयको संयोगमा चासोक तङ्नाम मनाउने गर्छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ ।

तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ ले पर्व चाड अर्थात् उत्सव जनाउँछ । लिम्बूहरूको मुन्धुम अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङले काँचो कन्दमूल खोजी खाने गर्दथ्यो । यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गर्नुभयो । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत बिज दिएको लिम्बू शास्त्रमा उल्लेख गरिएको सुब्बाले बताउनुभयो ।