• २ माघ २०८१, बुधबार

सबस्टेसन चार्ज

blog

चार्जिङ भइरहेको हरिपुर्वा विद्युत् स्टेसनमा प्राविधिक र अन्य । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, मङ्सिर १२ गते । सर्लाहीको हरिपुर्वामा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् सबस्टेसन चार्ज गर्न सुरु गरिएको छ । 

निर्माण कार्य पूरा भएको दुई वर्ष बितिसक्दा पनि हरिपुर्वा र ईश्वरपुर नगरपालिकाको केही स्थानमा पोल गाड्ने विषयमा विवाद हुँदा सबस्टेसन अलपत्र थियो । लामो प्रयासपछि पोल गाड्ने काम सम्पन्न गरी प्राधिकरणले सबस्टेसन सञ्चालनका लागि ट्रान्सफर्मर चार्ज गर्ने काम अघि बढाएको हो । 

प्राधिकरणको जनकपुरस्थित प्रादेशिक कार्यालयका इलेक्ट्रिकल फोरम्यान मौजे पण्डितले स्टेसन ट्रान्सफर्मर चार्ज सकेर पावर ट्रान्सफर्मर चार्जिङको काम भइरहेको जानकारी दिनुभयो । पण्डितका अनुसार अहिलेसम्मको परीक्षणमा सबस्टेसनको अवस्था ठिकठाक देखिएको छ । 

चार्जिङको काम सकेर अब एक हप्ताभित्रमा लोड दिने अर्थात् मलङ्गवाबाट तानिएको बत्ती काटेर हरिपुर्वा सबस्टेसनबाटै बत्ती छाड्ने तयारी रहेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरले जनाएको छ । 

हरिपुर्वाको सबस्टेसन चालु नहुँदा जिल्लाको पूर्वी भेगमा सदरमुकाम मलङ्गवादेखि बत्ती ल्याउनुपर्दा लामो प्रसारण लाइनका कारण छिन छिनमै बत्ती कट्ने, बत्ती आउँदा भोल्टेज नहुने, कुनै प्राविधिक गडबडी हुँदा १२ घण्टाभन्दा बढी समय बत्ती नआउने जस्ता समस्या थिए । 

हरिपुर्वाको सबस्टेसन सञ्चालन भएपछि पूर्वी बेल्टको हरिपुर्वा नगरपालिका, ईश्वरपुर नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, पर्सा गाउँपालिका र चन्द्रनगर गाउँपालिकाको विद्युत् नियमित हुनुका साथै भोल्टेजको स्तर बढ्ने प्राविधिकले बताएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बाँके चोकमा ढल्केबरतर्फबाट ल्याइएको ३३ केभी लाइन जोडेर श्रीनगर, वसन्तपुर, हरिपुर्वा हुँदै हरिपुर्वा नगरपालिका–२ मा निर्माण भएको सबस्टेसनमा पु¥याइएको छ । 

सबस्टेसनबाट ११ केभीको दुई वटा फिडरबाट उपभोक्तालाई बिजुली वितरण गर्ने प्राधिकरणको तयारी रहेको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो ।