• १० मंसिर २०८१, सोमबार

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी मनाइने

blog

अन्तर्राष्ट्रिय दिवसको तयारी छलफल । तस्बिर : भवानी ऐर

भवानी ऐर

गोदावरी (कैलाली), मङ्सिर १० गते । सुदूरपश्चिममा अपाङ्गता भएका नागरिकहरुले यस वर्ष अन्तर्राष्ट्रिय दिवस सात दिनसम्म मनाउने भएका छन् । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको साझा संस्थागत राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशले यसका लागि ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेर तयारी थालेको हो । 

प्रदेश राजधानीसमेत रहेको कैलालीको धनगढीमा यस वर्षको अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मङ्सिर १४ गतेदेखि २० गतेसम्म विभिन्न कार्यक्रमसाथ मनाइने अध्यक्ष मानबहादुर साउदले जानकारी दिनुभयो । उहाँका अनुसार साप्ताहव्यापी मनाइने कार्यक्रमलाई भव्य तथा व्यवस्थित रुपमा मनाउनका लागि सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थासँग छलफल गरेर विभिन्न उपसमिति बनाइएका छन् ।  

अन्तर्राष्ट्रिय दिवसलाई खुशीयालीका साथै आन्दोलनका रुपमा मनाउन गइरहेको भन्दै अध्यक्ष साउदले गतवर्ष झैं अपाङ्गता भएका युवाहरुको स्वरोजगार मेला मुख्य आकर्षक रहने बताउनुभयो । उहाँका अनुसार धनगढी उपमहानगरपालिका गेट अगाडि तीन दिनसम्म प्रदर्शनी मेला तथा महोत्सव चल्नेछ । उक्त प्रदर्शनी मेला तथा महोत्सवमा ‘अपाङ्गता भएका व्यक्तिहरुको श्रमको सम्मान, आर्थिक सशक्तीकरण र समाज रुपान्तरणको अभियान’ भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुबाट सञ्चालित लघु, घरेलु तथा साना उधोगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी मेला लाग्नेछ । 

यसका साथै सचेतनामूलक अन्तरक्रिया, लोकसांस्कृतिक कार्यक्रम, निःशुल्क स्वास्थ्य चेकजाँच, सीप तथा कला प्रदर्शनी र उत्कृष्ट कार्यको सम्मान लगायतका कार्यक्रम रहने उहाँले जानकारी दिनुभयो।अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस यही मङसिर १८ गते मनाइँदैछ । यस वर्षको मूल नारा 'समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई प्रवर्द्धन' छ ।