मुरारी अधिकारी
धादिङ, मङ्सिर १० गते । मध्य पहाडी लोक मार्गको धादिङ खण्डमा पर्ने त्रिपुरा सुन्दरी गाउँपालिका स्थित खहरेको आँखु खोलामा नौ वर्ष पछि बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।
२०७२ सालदेखि सो स्थानमा पक्की मोटरेवल पुल निर्माण सुरु गरेको भएपनि निर्माण कार्य पुरा नभए पछि अहिले सडक विभाग अन्तरगतको मध्य पहाडी लोक मार्ग आयोजनाले बेलीब्रिज जडान गरी सञ्चालन सुरु गरिएको हो । बेली ब्रिज सञ्चालनमा आएसँगै उत्तरी धादिङका विभिन्न स्थानहरूसम्म आवत जावतमा समेत निकै सहज हुने भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताउनुभएको छ ।
त्रिपुरा सुन्दरी गाउँपालिकाको खहरे बजार र अचनेटार जोड्न आँखु खोलामा बेलीब्रिज जडान भएसँगै अब मध्य पहाडी लोक मार्ग हुदै सवारीका साधनहरू उत्तरी धादिङका विभिन्न गाउँहरूमा पुग्न सहज भएको अध्यक्ष उप्रेतीको भनाइ छ ।
निर्माण सुरु भएको नौ वर्ष पछि पक्की पुल नभए पनि मोटरेवल वेलीब्रज जडान भई सञ्चालन सुरु भएसङै सो क्षेत्रका स्थानीयमा खुसीको सीमा नै छैन। पुल निर्माण भएको त्रिपुरासुन्दरी ७ का वडा अध्यक्ष सुभास अधिकारीले पुल निर्माणले यस क्षेत्रका मानिसको आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने बताउनुभयो । पुल नहुँदा सो क्षेत्रका स्थानीयलाई आँखु खोला वारपार गर्नका लागी जीर्ण झोलुङ्गे पुलको प्रयोग गर्नु पर्ने बाध्यता थियो ।
सडक सुविधा भए पनि अचनेटार,लपाङ्गल र उत्तरी धादिङका गाउँका स्थानमा सवारीका साधनहरू आँखु खोला तरेर आवत जावत गर्न नसक्दा यहाँका स्थानीयले बोकेर बजारबाट दैनिक उपभोग्य सरसामान ल्याउनु पर्ने बाध्यता थियो, अव भने सो समस्या पनि समाधान हुने भएको छ ।
पुल सञ्चालनमा आए सगै स्थानीय बालबालिकाहरूलाई विद्यालय आउन जान समेत सजिलो भएको छ । यसका साथै धादिङमा उत्पादित कृषि र पशु जन्य उत्पादन विक्रीका लागी बजार ल्याउन पनि पुलले सजिलो भएको छ । सो पुलले मध्य पहाडी लोक मार्ग हुँदै उत्तरी धादिङबाट नुवाकोट हुदैँ राजधानी काठमाण्डौँसम्म जानका लागि पनि निकै सजिलो हुने स्थानीय दीपक सिटौला बताउनुहुन्छ ।
आँखु खोलामा ६१ मिटर लम्बाइको बेलिब्रिज जडानका लागी मध्य पहाडी लोक मार्ग आयोजनाले ६ करोड रकम खर्चेको हो । सो बेलिब्रिज जडान लागी सडक विभाग अन्तरगतको सो आयोजनाले जलप नेपाल निर्माण सेवालाई जिम्मा दिइएको हो । पुल ८८ दिनमा जडान गरी सम्पन्न गरेको हो ।