अमृतप्रसाद पौडेल
म्याग्दी, मङ्सिर १० गते । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान (२५ नोभम्बर देखि १० डिसेम्बर) अन्तर्गतको कार्यक्रम सोमबारदेखि म्याग्दीमा पनि सुरु भएको छ ।
हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने राष्ट्रिय नाराका साथ म्याग्दीमा पनि दिवसको सुरुवात गरिएको छ । अभियानको पहिलो दिन असल अभ्यास साझा गर्ने कार्यक्रमको आयोजना गरी अभियानको औपचारिक सुरुवात गरिएको बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो ।
बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी नेपाल मञ्चको आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा जिल्ला समन्वय समितिको सभाहलमा औपचारिक कार्यक्रमको सुरुवात भएको छ ।
कार्यक्रमको सुरुवात पूर्व बेनी नगरपालिकाको आयोजना तथा विभिन्न सामाजिक सङ्घ संस्थाको समन्वयमा प्रभातफेरीको आयोजना गरिएको थियो । सकारात्मक सन्देश प्रवाह र सुरुआत गर्नका लागि असल अभ्यास साझा गर्ने कार्यक्रममा लैङ्गिक अल्पसङ्ख्यक समुदायकी दिलु बुदुजालगायतले कार्यक्रमको सहजीकरण गर्नुहुनेछ ।