अनिल पराजुली
हेटौँडा, मङ्सिर ९ गते। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उद्योग चलाउन गर्न सबै सकारात्मक हुनुपर्ने बताउनुभएको छ। उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको आयोजनामा १० औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रमलाई आइतबार हेटौँडामा सम्बोधन गर्दै सरकारले सुरक्षाको जिम्मा र पूर्वाधारको विकास गरेर उद्योग सञ्चालन गर्ने वातावरणको सिर्जना गर्नुपर्ने बताउनुभयो।
उद्योगधन्दा नफस्टाएसम्म विदेश जानेक्रम नरोकिने बताउँदै उद्योगलाई सुविधा दिएर सरकारले जोगाउनुपर्ने उहाँको भनाइ छ। सरकारले उद्योगी व्यवसायीसँग लिएको करको प्रसङ्ग जोड्दै उहाँले न्यूनतम मात्रै कर असुल गरेको स्पष्ट पार्नुभयो। मानसिक रूपमै सरकारले धेरै कर लिएको उद्योगीले अनुभव गरेको जिकिर गर्दै सरकार करबाट चल्ने उहाँले बताउनुभयो। स्थानीयस्तरमा उपलब्ध भएका कच्चा पदार्थमा आधारित भएर उद्योग खोल्न पनि उहाँले सुझाव दिनुभयो।
प्रसङ्ग जोड्दै उहाँले मलेसियामा उत्पादन भएको काठको मूल्य कम हुने र यहाँकै काठको मूल्य महँगो भएकोप्रति प्रतिप्रश्न गर्नुभयो। उहाँले नेपालमै प्रतिशत मात्रामा ढुङ्गा पाइने भए पनि मूर्ति बनाउन ढुङ्गा समेत भारतबाट आयात हुनु दुखद पक्ष भएको बताउनुभयो।
मुख्यमन्त्री लामाले तीन तहको सरकार मिलेर काम गर्नसके उद्योग व्यवसायीलाई जोगाउन सकिने बताउनुभयो। वैदेशिक लगानी भित्र्याउन पनि सरकारले लगानीको सुरक्षा गर्नुपर्नेमा जोड छ। अनुदानको दुरुपयोग भइरहेको सन्दर्भमा उहाँले प्रदेश सरकारबाट वितरण हुने अनुदानमा पनि सुधार आवश्यक रहेको स्पष्ट पार्नुभयो।
उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठ, प्रदेश सचिव राजेन्द्र कुमार केसी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका महाशाखा प्रमुख महेशराज पौडेलले मन्त्रालयको प्रगति र उद्योग परिसंघ बागमती प्रदेश उपाध्यक्ष स्वागतराज प्याकुरेलले बागमती प्रदेशको औद्योगिक अवस्था तथा अवसरको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।