• १८ मंसिर २०८१, मङ्गलबार

साख सुधारको उत्साह

blog

नेपाली अर्थतन्त्रमा यताका दिनमा निराशाजनक विषयवस्तुले मात्र बढी चर्चा पाउने गरेका थिए । कोरोना महामारीपछि युक्रेन रुस युद्धले विश्व अर्थतन्त्रमा पारेको दुष्प्रभावमा नेपाली अर्थतन्त्र पनि प¥यो । त्यसयता नेपालमा लगानीको वातावरण छैन भन्ने भाष्य सिर्जना गर्न खोजियो । ब्याजदर तल्लो विन्दुमा आए पनि लगानीमा प्रोत्साहन हुन सकेन । आग्रह राखेर कतिपय अभिव्यक्ति दिँदा त्यसको सही विश्लेषण नहुने रहेछ । विश्व अध्ययनले त अर्थतन्त्र राम्रो दिशामा जान थालेको जानकारीमा आयो । फलस्वरूप नेपालमा लगानीको वातावरण राम्रो रहेको पाइएको छ । लगानीको वातावरण सिर्जना हुने गरी विश्वसमुदायमा नेपालको साख बढेको देखिनु उत्साहजनक हो । बाह्य सूचक राम्रो हुँदाहुँदै पनि अर्थतन्त्रका कतिपय आन्तरिक सूचक राम्रो नरहेको विषयलाई बढी हल्ला गरिँदा निराशा बढाउने यत्न मात्र देखियो । नेपालमा लगानीको वातावरण राम्रो रहेको अब स्पष्ट भएको छ । यसले आगामी दिनमा लगानी बढ्न सक्ने आधार सिर्जना भएको छ ।


 फिच रेटिङ लिमिटेडले गरेको मापनमा नेपालको सार्वभौम साख निर्धारण (सोभरिन क्रेडिट रेटिङ) मा ‘बिबी माइनस’ पाएको छ । यो तुलनात्मक रूपमा राम्रो सूचक हो । नेपालले प्राप्त गरेको रेटिङले भाबी दिनमा नेपालको अर्थतन्त्रमा आउने सक्ने सुधारलाई प्रतिविम्बित गर्छ । नेपालको अर्थतन्त्रको संरचना ठिक रहेको देखाएको छ भने सार्वजनिक वित्त परिचालनको अवस्था पनि राम्रो पाइएको छ । सँगसँगै समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको सङ्केत गरेकोे छ । अर्थ मन्त्रालयले जनाए अनुसार पछिल्लो नतिजाले नेपालको साख क्षमता उच्च रहेको छ । वित्तीय तथा आर्थिक क्षमता सबल छ भने अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने आधारसमेत सिर्जना गरेको छ । 


साख नतिजासँगै त्यसको मापनका प्रक्रियागत आधार बाहिर ल्याई थप विश्वसनीय बनाइएको छ । सार्वभौम क्रेडिट रेटिङमा मूलतः अर्थतन्त्रका चार क्षेत्रलाई लिइएको छ । पहिलो, अर्थतन्त्रको संरचनगत स्थिति, दोस्रो समष्टिगत आर्थिक उपलब्धि, तेस्रो सार्वजनिक क्षेत्र र चौथो बाह्य क्षेत्र । चारै परिसूचकको विस्तृत लेखाजोखा गरी साख निर्धारण गरिएको छ । सार्वभौम रेटिङमा मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रूपमा मूल्याङ्कन गरी प्राप्त स्कोरलाई न्यूनतम ‘डी’ देखि अधिकतम ‘एएए’ सम्म रेटिङ प्रदान गर्ने प्रक्रिया छ । महत्वपूर्ण पक्ष के छ भने नेपालको १६ औँ पञ्चवर्षीय योजनाले परिलक्षित गरेको मध्यकालीन तथा दीर्घकालीन खाकालगायतका विवरण र तथ्याङ्कको विश्लेषणसमेत गरी नयाँ साख निर्धारण गरिएको छ । यसले नेपालको आर्थिक सुधारको दिशा सही रहेको देखाउँछ ।


साख निर्धाणका क्रममा प्राप्त तथ्याङ्कलाई मात्र आधार मानिएको छैन । केवल अङ्कलाई मात्र आधार नमानी गुणात्मक पक्षको समेत अध्ययन गरिएको छ । गुणात्मक मूल्याङ्कनका विभिन्न चरण पार गरी निष्कर्ष निकालिएको छ । त्यस क्रममा नेपालको स्थलगत भ्रमणमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्कलगायतका सरकारी निकायको कामकारबाही अध्ययन गरिएको जनाइएको छ । सम्बद्ध निकायका उच्च पदाधिकारीसँग अध्ययन टोलीको आवश्यक परामर्श र छलफल भएको थियो । गुणात्मक अध्ययनको सिलसिलामा निजी क्षेत्रलाई समेत समेटियो । निजी क्षेत्रका सङ्घ संस्थाका साथै नेपालस्थित द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार निकायका अधिकारीसँग समेत गरिएको परामर्शले साख निर्धारण प्रक्रियाको गहनतालाई देखाउँछ । गुणात्मक अध्ययनको यो आयामले साख निर्धारणका क्रममा बहुपक्षलाई समेट्न सकेको र बढी विश्वसनीय भएको स्पष्टै देखिन्छ । 


यो पटक साख निर्धारणका क्रममा नेपालको पूर्वाधार विकासलाई पनि आधार बनाइएको छ । त्यस क्रममा नेपालले प्रस्तुत गरेको पूर्वाधार विकासको मध्यकालीन र दीर्घकालीन योजना कार्यान्वयनको मूल्याङ्कन गरिएको छ । स्थलगत पूर्वाधार अवलोकनको नमुनाका रूपमा नागढुङ्गा सुरुङमार्गलाई लिई स्थलगत अध्ययन गरिनु महìवपूर्ण पक्ष हो । साख निर्धारणको नतिजाप्रति टिप्पणी गर्नुहुँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सिर्जना भएको स्पष्ट पार्नुभएको छ । साख नतिजा राम्रो हुँदा नेपालले अब बाह्य बजारबाट कम ब्याजदरमा लगानी ल्याउन सक्ने आधार सिर्जना भएको उहाँको भनाइ छ । आउँदो दुई वर्षपछि नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुने छ । त्यसक्रममा नवीनतम एवं वैकल्पिक वित्तका स्रोत परिचालन गर्नुपर्ने अवस्थाको पूर्वतयारी गर्न यो साख नतिजाले सहयोग गरेको छ । अब निजी क्षेत्रमा लगानी उत्साहसँगै बाह्य लगानी बढी आकर्षित हुने छ ।