• ९ पुस २०८१, मङ्गलबार

राहदानी सेवा ठप्प

blog

काठमाडौँ, मङ्सिर ९ गते । विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस सल्केपछि सेवा अवरुद्ध हुन पुगेको हो । राहदानी विभाग र त्यस अन्तर्गत राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोगसमेतको सेवा ठप्प रहेकाले सेवाग्राही मर्कामा परेका छन् । 

यसबाट नयाँ राहदानी बनाउने, पुरानो राहदानी नवीकरण गर्नेलगायत राहदानीसम्बन्धी सबै कार्य अवरुद्ध रहेको जनाइएको छ । दुई दिनदेखि सेवाग्राहीले अनलाइनमार्फत आफैँले भर्न सक्ने सेवासमेत अवरुद्ध भएकाले सेवाग्राही पनि तनावमा परेका छन् । 

सेवा अवरुद्ध भएपछि अत्यावश्यक सेवामार्फत राहदानी पाउने सुविधासमेत नपाउँदा धेरै नागरिकको विदेशयात्रा पनि प्रभावित बनेको गुनासो सेवाग्राहीले गरेका छन् । विभागले राहदानीको तथ्याङ्क व्यवस्थापनमा समस्या देखा परेकाले सेवा प्रभावित बनेको जनाएको छ । 

अनलाइनमार्फत राहदानी सेवा सञ्चालन गरिरहेको विभाग सर्भरसँग जोडिएको कम्प्युटरमा भाइरस आक्रमण भएपछि तनावमा परेको जनाइएको छ । विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार केही जिल्लास्थित राहदानी सेवा दिइरहेका कम्प्युटरमा भाइरस आक्रमण भएको हो । उहाँले भन्नुभयो, “फाराम भर्ने र यता पठाउने स्थानीय कम्प्युटरमार्फत भाइरस आक्रमण भएको देखियो, त्यसले सबै सिस्टममा असर पार्ने देखिएकाले केन्द्रको सिस्टमसँग जोडिएको सर्भर नै बन्द गर्नु परेको हो ।” 

सर्भरसँग जोडिएका कम्प्युटर र सफ्टवेयरमा भाइरस आक्रमण हुँदा त्यो सर्भरमार्फत फैलिएको खण्डमा राहदानीको एकीकृत प्रणाली नै बन्द हुन सक्छ । त्यसैले समस्याको सबै चुरो पत्ता लगाएर समाधान गर्न विभाग लागिपरेको महानिर्देशक अर्यालले जानकारी दिनुभयो । सकेसम्म छिटो सेवा सञ्चालन गर्न उच्चस्तरकै प्रयास भइरहेको विभागले जनाएको छ । अफलाइन हुन सक्ने काम भने विभागमा भइरहेको छ ।

विभागका प्राविधिकले मात्र नपुगेर विदेशबाटसमेत प्राविधिक बोलाएर भविष्यमा हुन सक्ने सम्भावित चुनौतीको विश्लेषणसहित समाधान गर्नुपर्नेमा जोड दिइएको महानिर्देशक अर्यालले बताउनुभयो । पहिले त कसरी र कहाँबाट भाइरस आक्रमणको समस्या आयो र भविष्यमा यस्तै समस्या देखिएमा कसरी जाने भन्ने योजना पनि बनाउन आवश्यक रहेकाले त्यसको विश्लेषणसमेत गरिने जानकारी उहाँले दिनुभयो । राहदानी विभागको प्रविधि उच्चकोटीको मानिन्छ । तथापि बेला बेलामा सर्भरमै असर पर्ने गरी समस्या भने आउन छाडेको छैन । प्राविधिक विषय भएकाले अनलाइन इनरोलमेन्ट रोकिँदा त्यसको असर छपाइसम्म पर्न गएको छ ।

विभागमा दैनिक झन्डै छ हजार पाँच सय प्रति विद्युतीय राहदानीका लागि आवेदन आउने गरेको छ । सोही अनुसार राहदानी वितरण गरिने गरिएको विभागले जनाएको छ ।