काठमाडौँ, मङ्सिर ४ गते । एसिसी यु–१९ एसिया कपको तयारीमा रहेको नेपाल चौथो एक दिवसीय अभ्यास खेलमा मङ्गलबार भारतको कर्नाटक–१९ सँग पाँच विकेटले पराजित भएको छ ।
मूलपानी क्रिकेट मैदानमा चौथो खेलमा नेपालको हारसँगै पाँच खेलको सिरिज २–२ को बराबरी भएको छ । सिरिजको पाँचौँ तथा अन्तिम खेल बिहीबार हुनेछ । यसअघि कर्नाटकले एक खेल एक विकेटले जितेको थियो । नेपालले पहिलो खेल सात विकेट र तेस्रो खेल एक सय २१ रनले जितेको थियो ।
जितका लागि नेपालले दिएको एक सय ६ रनको लक्ष्य कर्नाटकले ३७ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । कर्नाटकाका लागि अक्षथ प्रभाकर र शिवले २४/२४ रन बनाउनुभयो । कप्तान रोहितले २० र प्रतिकले १० रन जोड्नुभयो । बलिङमा नेपालका सन्तोष यादवले तीन विकेट लिनुभयो । राजेश यादव र विपिन महतोले एक एक विकेट लिनुभयो ।
यसअघिटस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय पाँच रन बनाएको थियो । नेपालका लागि रोशन विकले अविजित ३४ र मायन यादवले ३४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
बलिङमा कर्नाटकका अक्षथ प्रभाकरले पाँच विकेट लिनुभयो। यस्तै प्रनव आश्वथले तीन तथा इसा पुथिगे र मालातेशले समान एक विकेट लिनुभयो । यु–१९ एसिया कप मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुनेछ ।
एसिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेको छ । नेपालले मङ्सिर १४ गते श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेको छ । सेमिफाइनल खेल मङ्सिर २१ र फाइनल खेल २३ गते हुनेछ।