नवीन सुवेदी
सुर्खेत, मङ्सिर ४ गते । पछिल्लो समय क्षमताभन्दा बढी यात्रु राख्ने, साँघुरा सडक र तीव्र गतिका कारण कर्णाली प्रदेशमा सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । गत कात्तिक २३ गते दैलेख सदरमुकामबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दैलेख–सुर्खेत सिमानामा दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा चार जनाले घटनास्थलमै ज्यान गुमाए । ज्यान गुमाउनेमा दैलेखको भैरवी गाउँपालिका–५ का गाडीचालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका–२ का १६ वर्षीय दीपिका महतारा र २१ वर्षीय सङ्गीता विष्ट हुनुहुन्थ्यो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ को रातानाङ्लानजिकै दुर्घटना भएको गाडीमा ३४ यात्रु सवार थिए । यसरी यो दुर्घटना हुनुको पछाडि तीव्र गति र यात्रु भार धेरै भएको प्रहरीको निष्कर्ष छ । दैलेख–सुर्खेत सडक खण्डमा चारभन्दा बढी ठाउँमा ट्राफिक पोस्ट र प्रहरी पोस्ट राखिएका छन् । गाडी सुर्खेत–दैलेख सिमानानजिक दैलेखको गुराँस गाउँपालिकाको गुराँसे बजारमा रहेको चेकपोस्टमा सहचालकले १० जना यात्रुको विवरण गोप्य राखेर २३ जना मात्रै गाडीमा रहेको विवरण टिपाएका थिए । प्रहरी चौकीमा इन्ट्री गरेर गन्तव्यमा लागेको झन्डै २० मिनेटमा गाडी सडकबाट तीन सय मिटर तल खोँचमा खसेर दुर्घटनाग्रस्त बन्यो । उक्त फोर्स गाडीको भारवहन क्षमता १५ देखि १८ जना मात्रै हो । प्रहरी पोस्ट आउनै लाग्दा यात्रुलाई पैदल हिँड्न लगाएर इन्ट्री गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले बताउनुभयो । उहाँले गाडीधनीले प्रहरीको आँखा छल्दा, सवारीसाधनमा यान्त्रिक गडबडी, ओभरलोड र तीव्र गतिका कारण अप्रिय घटना भइरहेको जानकारी दिनुभयो ।
कालीकोटको पलाता गाउँपालिका–५, खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप वडा नं. ३ को राडु भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा पर्यो । उक्त दुर्घटनाबाट सात जनाले ज्यान गुमाए भने १३ जना घाइते भए । छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । गाडी चालकको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा निधन भयो ।
दुर्घटनास्थल कर्णाली कोरिडोर जोड्ने भित्री सहायक मार्ग हो । भौगोलिक दृष्टिले दुर्गम रहेको दुर्घटना स्थलमा नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि समयमै नपुगेको भए अझै धेरैको ज्यान जाने सम्भावना थियो । यस सडकमा निजी बोलेरो सञ्चालन हुँदै आएका छन् । बोलेरोको यात्रु क्षमता भनेको पाँच जना हो तर दुर्घटनामा परेको जिपले १९ जना यात्रु बोकेको थियो । जिप दुर्घटना हुनुका कारण साँघुरो सडकमा तीव्र गति र ओभरलोड रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रमुख डिएसपी टेकबहादुर रावतका अनुसार, दुई वर्षअघि मात्रै खनिएको सडक कच्ची थियो । पाँच सिट क्षमताको बोलेरोमा १९ जना यात्रु चढ्दा दुर्घटना भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घटना स्थल हेर्दा कच्ची र साँघुरो सडक तथा सिट क्षमताभन्दा धेरै यात्रु सङ्ख्या देखिन्छ । दुर्घटनाको थप कारण पनि बुझ्दै छौँ ।”
कालीकोटको भौगोलिक अवस्था अनुसार भित्री सडकमा ट्राफिक व्यवस्थापन गर्न निकै चुनौती रहेको प्रहरी प्रमुख रावत बताउनुहुन्छ । अघिल्लो साताको शुक्रबार दैलेख–सुर्खेत सिमानामा फोर्स गाडी दुर्घटना, गत आइतबार कालीकोटमा जिप दुर्घटनालगत्तै सोमबार जाजरकोटको छुट्टाछुट्टै दुई ठाउँमा फोर्स गाडी र जिप दुर्घटनामा परे । जाजरकोटमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ३७ जना यात्रु घाइते भए । जाजरकोट सदरमुकामबाट नेपालगन्जका लागि छुटेको बा५ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका थिए ।
यस्तै सोमबारै जाजरकोटको बारेकोट गाउँपालिकाबाट सदरमुकामका लागि छुटेको १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भए । प्रहरीका अनुसार दुर्घटनामा केही घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार प्रदेशमा हरेक वर्ष सडक दुर्घटनामा ज्यान गुमाउने सङ्ख्यामा वृद्धि भइरहेको छ । सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायले ध्यान दिएका छैनन् ।
कर्णाली प्रदेशभर दसैँतिहार अर्थात् असोज–कात्तिकमा १६२ वटा सडक दुर्घटना भएका प्रहरीले जनाएको छ । पछिल्लो एक हप्तामा लगातार कर्णालीमा सडक दुर्घटना भएपछि प्रहरीले सवारी चेकजाँचमा सक्रिय भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका सबै जिल्लामा भित्रिने र बाहिरिने नाकामा सवारी जाँचमा कडाइ गरिरेको दाबी गरेको छ ।
सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले सडक दुर्घटना हुनुमा यातायात व्यवसायीको मात्रै दोष नभई यससँग सम्बन्धित सबै निकायको कमजोरी रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कसैले पनि यसमा म चोखो हुँ भन्ने ठाउँ छैन । यातायात व्यवसायीको त्यत्तिकै कमजोरी छ । यात्रुको, सवारी चालकको, प्रहरी प्रशासन र नीतिगत भ्रष्टाचार गरेर बनेका बाटोलाई स्वीकृत गर्ने नेपाल सरकारका प्रशासनिक निकाय सबैभन्दा बढी दोषी छन् ।”