• १२ पुस २०८१, शुक्रबार

मुस्ताङमा पर्यटकको खर्च झन्डै दुई अर्ब

blog

अमृतप्रसाद पौडेल 

म्याग्दी, मङ्सिर ४ गते । मुस्ताङ जिल्लामा भ्रमण गर्ने पर्यटकले कात्तिकमा मात्रै सरदर दुई अर्ब हाराहारीको आर्थिक कारोबार गरेका छन् । 

पवित्र तीर्थस्थल मुक्तिनाथ, कागबेनी तथा दामोदरकुण्ड जस्ता धार्मिक स्थल रहेको मुस्ताङ भ्रमण गर्न आउने पर्यटकले गर्ने सरदर खर्च झन्डै दुई अर्ब कारोबार भएको देखिन्छ । कात्तिक १ देखि ३० गतेसम्म एक लाख १३ हजार तीन सय आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । उनीहरूले मुस्ताङ भ्रमण गर्दा सरदर १५ हजार हाराहारी खर्च गर्ने भएकाले एक अर्ब ७० करोड हाराहारी खर्च गरेको अनुमान गरिएको हो । 

मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङ भ्रमण गर्ने पर्यटकले आफ्नो सुरुवाती गन्तव्य बिन्दुदेखि फर्केर सोही स्थानसम्म पुग्दा १५ देखि ३० हजार रुपियाँसम्म खर्च गर्छन् । तर पनि सरदर १५ हजार रुपियाँ मात्रै अनुमान गर्दा पनि एक अर्ब ७० लाख कारोबार भएको देखिने उहाँको तर्क छ । 

मार्फाका स्थानीय पर्यटन व्यवसायी विजय हिराचनले आन्तरिक पर्यटकले मुस्ताङ भ्रमण गर्दा सरदर २० हजार रुपियाँ खर्च गर्ने तर्क गर्नुभयो । उहाँका अनुसार पूर्वी नेपाल तथा पश्चिम नेपाल अनि गण्डकी प्रदेश सबैलाई सरदर हेर्ने हो भने १५ देखि २० हजार हाराहारी खर्च गर्ने हुनाले कात्तिकमा मुस्ताङ भ्रमणको तथ्याङ्क केलाउँदा करिब करिब दुई अर्ब रुपियाँ परिचालन भएको मान्न सकिन्छ । यो भ्रमणले देशको अर्थ चलायमान भएको हुनाले पनि यस्ता बिदामा आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्ने माहोल सिर्जना गरिनुपर्ने उहाँले तर्क गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर बोगटीले दिनुभएको जानकारी अनुसार कात्तिकमा मात्रै आन्तरिक तथा बाह्य पर्यटक हवाई र स्थल मार्गबाट एक लाख १३ हजार तीन सयले मुस्ताङ प्रवेश गरेको देखिन्छ ।

गएको कात्तिकमा हवाई तथा स्थल मार्गबाट गरी १४ हजार १२४ जना पर्यटक मुस्ताङ आएका छन् । विदेशी पर्यटक आठ हजार ९० जना पुरुष र छ हजार ३४ जना महिलाले मुस्ताङ भ्रमण गरेका छन् । तीमध्ये ६५९ पुरुष र ५७९ महिलाले हवाई मार्ग प्रयोग गरेर मुस्ताङ आएका थिए । सात हजार ४३१ जना पुरुष र पाँच हजार ३५५ जना महिला गरी कुल १२ हजार ७८६ जना पर्यटकले स्थल मार्ग प्रयोग गरेर मुस्ताङ भित्रिएको प्रहरीले जनाएको छ ।