• ४ पुस २०८१, बिहिबार

प्रधानाध्यापकलाई छ महिना कैद

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ४ गते । नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाउने धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी विद्यालयका प्रधानाध्यापक गोपालबहादुर महतलाई छ महिना कैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला भएको छ ।  

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले यस्तो फैसला गरेको हो । उक्त फैसलाको पूर्णपाठ आइतबार आएको हो । महतले पाँच जना नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो । 

कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । पूर्णपाठमा उल्लेख भए अनुसार महतले आफ्नो विद्यालयमा कक्षा १२ मा पढेर वार्षिक परीक्षा दिने विद्यार्थी सात जना मात्रै रहेकाले सञ्चालनमा आर्थिक कठिनाइ भएको र थप पाँच जना नक्कली परीक्षार्थी खडा गरी १२ जना बनाएर परीक्षा दिन लगाउन खोजेको बयान अदालतसमक्ष दिनुभएको थियो ।