मीना कंडेल
कावासोती, मङसिर ३ गते । पूर्वी नवलपरासीका मुख्य नाकामा जडान गरिएको ७८ प्रतिशत सिसिटिभी क्यामेरा नचल्ने अवस्थामा छ । सिसिटिभी नचल्दा अनुसन्धानमा असहज भएको प्रहरीले जनाएको छ ।
लागु औषध ओसार–पसार तथा कारोबार नियन्त्रण गर्न साथै आपराधिक घटनाको अनुसन्धानमा सहज बनाउन नवलपुरका मुख्य नाकामा अत्याधुनिक प्रणालीसहित सिसिटिभी जडान गरिएको थियो । समय–समयमा आउने हावाहुरी, पानी, चट्याङ र नारायणगढ बुटवल सडक विस्तारका कारण बिग्रिएर बसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भारतीय नाकानजिक रहेको कारण लागु औषध ओसार–पसार तथा कारोबार समस्या बढ्दै गएको छ । उहाँले भन्नुभयो, “सिसिटिभी नचल्दा अपराध गरेर र दुर्घटना गराएर सवारीचालक भाग्ने गरेका छन् ।”
यसअघि जडान गरिएका सिसिटिभी क्यामेरा नचल्ने अवस्थामा रहेकाले अहिले शान्ति सुरक्षा र दुर्घटना न्यूनीकरणको लागि पूर्व–पश्चिम राजमार्गको मुख्य बजार तथा भित्री सडकमा अत्याधुनिक सिसिटिभी जडान गरिने भएको छ । जिल्लाको मुख्य सडक र बजार क्षेत्रमा सिसिटिभीबाट निगरानी गरिने भएको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको अध्यक्षतामा बसेको स्थानीय तह, सुरक्षा निकाय र सडक विभाग, यातायात व्यवसायी र सरोकारवालाको बैठकले जिल्लाको गैँडाकोट नारायणी किनारदेखि दाउन्नेसम्म पूर्व–पश्चिम राजमार्ग र पहाडी भेग गरेर १७ वटा क्यामेरा जडान गर्ने निर्णय गरेको हो ।
मध्यविन्दु नगरपालिकामा ४, कावासोती नगरपालिकामा-७, देवचुली नगरपालिकामा-५, गैँडाकोट नगरपालिकामा-४, विनयी त्रिवेणी गाउँपालिकामा-२, बौदीकाली गाउँपालिकामा ३, बुलिङ्गटार गाउँपालिकामा-२, सिसिटिभी क्यामेरा जडान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।
क्यामेरा जडानको लागि स्थानीय तह र विभिन्न सङ्घ संस्थाले प्रतिबद्धता जनाएको र क्यामेराको निगरानी सम्बन्धित स्थानमा रहेका प्रहरी कार्यालयमार्फत गरिने छ । मुख्य सडक र बजारमा सिसिटिभी क्यामेरा नहुँदा घटना घटेपछि अनुसन्धान, दोषी पहिचान र घटनाको कारण पत्ता लगाउन सहयोग हुने र आपराधिक घटना पनि कम हुने अपेक्षा गरिएको छ ।