काठमाडौँ, मङ्सिर ३ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।
उहाँले मुलुक अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा विश्व प्रतिस्पर्धामा आउन नयाँ–नयाँ नवीनतम सोचका साना, मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य रहेको बताउनुभयो । उहाँले अहिले सञ्चालित उद्योग व्यवसायहरूलाई पनि नयाँ सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘विकासोन्मुख देशमा स्तरोन्नति भएको परिवेशमा विश्व प्रतिस्पर्धामा आउन नयाँ–नयाँ इनोभसन सोचका साना मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य भएको छ । साथै सञ्चालित उद्योग व्यवसायहरूलाई पनि नयाँ सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएको छ । यसरी व्यवसाय विस्तार गर्न सकियो भने, अर्थतन्त्रको विकासमा नयाँ अवसरहरू सिर्जना हुनेछन्, नवप्रवर्तनले लागत घटाइ व्यवसाय विस्तार हुनुका साथै उद्यमीहरूका लागि आत्मनिर्भर बन्ने एउटा महत्त्वपूर्ण माध्यम बन्ने हाम्रो विश्वास छ ।’’
अध्यक्ष ढकालले नयाँ सोचका साथ व्यवसाय विस्तार गर्नसक्दा मात्रै अर्थतन्त्रको विकासमा नयाँ अवसरहरू सिर्जना हुने र नवप्रवर्तनले लागत घटाउने तथा उद्यमीहरूको लागि आत्मनिर्भर बन्ने माध्यम हुने विश्वास रहेको जानकारी दिनुभयो । उहाँले महासङ्घले इनोभेटिभ स्टार्टअपको विकास एवम् प्रवर्द्धनमा सघाउ पुर्याउन “स्टार्टअप एण्ड इनोभेसन फोरम” गठन गरेको बताउनुभयो । उहाँले लघु घरेलु तथा साना उद्यम समितिले यस क्षेत्रको विस्तारका लागि काम गरिरहेको जानकारी दिनुभयो । उहाँले निर्यात प्रवर्द्धन समितिले बाहिरको बजार खोज्ने प्रयास गरेको बताउनुभयो ।
अध्यक्ष ढकालले देशभित्र आर्थिक क्रियाकलाप बढाउन कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउनुपर्ने, करका प्रक्रियाहरूमा पारदर्शी बनाई कम दरमा कर उपलब्ध गराउन सक्नुपर्ने बताउनुभयो । उहाँले आयात–निर्यात प्रक्रियालाई सरल बनाउँदै अनधिकृत आयात रोक्न जरुरी रहेको उल्लेख गर्नुभयो । सरकारले नीतिगत स्पष्टता, स्थिरता र शीघ्र एवम् प्रभावकारी कार्यान्वयनको सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सुशासनमा सुधार गरी युवाहरूलाई काम गर्न उत्साहित र प्रोत्साहित गरिनुपर्नेमा जोड दिनुभयो ।